काठमाडौं – सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले मंगलबार (आज) बाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो। आयोजना प्रभावित स्थानीयमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरूको लागि ३ लाख १५ हजार कित्ता सेयर छुट्याइएको छ।

त्यस्तै, कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरूको लागि ७ लाख ३५ हजार कित्ता सेयर छुट्याएको छ।

साथै, कम्पनीले सर्वसाधारणलाई बिक्री गर्ने २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले छिटोमा पुस ५ गतेसम्म आइपिओ खरीदका लागि आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा पुस २० गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ।  

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले एनसिसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्छन्। 

तपाईको प्रतिक्रिया