काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिईरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिर्दै आएको मासिक पारिश्रमिक कटौति गरेको छ । आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो ।

प्राज्ञहरुबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरुले सो निर्णय गर्नु परेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताएका छन् । उनले दोहोरो सुविधा लिएका आजीवन सदस्यहलाई दिइएको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सिर्जनशील क्षेत्रमा लगानी गर्ने योजना रहेको पनि जानकारी दिए ।

त्यस्तै , प्रतिष्ठानका पदाधिकारीहरुले आफूहरुले पनि राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गरेका थिए । नेपाली हुनुको उच्च नैतिकता सिकाउन आफूहरुले नै यस्तो निर्णय लिएको पनि कुलपति राईले बताएका छन् । हाल प्रतिष्ठानमा आजीवन सदस्य रहेकाहरुले ५१ हजार ४४७ रुपैयाँ मासिक पारिश्रमिक लिँदै आएका थिए । प्रतिष्ठानबाट वार्षिक करिब एक करोड २० लाख दोहोरो सुविधा लिने गरेकोमा यसलाई कटौति गरेर बचेको बजेटले प्राज्ञिक क्षेत्रमा नै केही गरौं भन्ने भावना रहेको पनि प्रतिष्ठानले जनाएको छ ।

यस्तै प्रतिष्ठानका परिषद सदस्यहरुको कार्य विभाजन पनि गरेको छ । जस अनुसार कुलपति राईलाई संस्कृति, लोकवार्ता तथा मौलिक ईतिहास विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी बाल साहित्य विभागको जिम्मेवारी उपकुलपति विमल निभा, साहित्य प्राज्ञ डा. मधुसुदन गिरी, दर्शन शाष्त्र विभाग प्राज्ञ डा. कृष्णराज अधिकारी, साहित्य (मातृभाषा) प्राज्ञ राजन मुकारुङ, साहित्य पद्य÷काव्य विभागको जिम्मेवारी प्राज्ञ बाबा बस्नेत दिइएको छ ।

प्रा. डा. कौशिला रिसाललाई सामाजिक शाष्त्र, प्राज्ञ हंसावती कुर्मीलाई अनुवाद, प्राज्ञ अमर न्यौपानेलाई साहित्य (गद्य), प्राज्ञ त्रैलोक्यमान बनेपालीलाई भाषा (मातृकोष, कोश र व्याकरण), र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई भाषा (कोष र व्याकरण) विभाग हेर्ने जिम्मेवारी दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया