काठमाडौं – सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् ।

छिरिङ र जगदिश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजारा २ सय ७८ मिटरको उचाईमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड (पेयर)’ को रेकर्ड राखेका थिए ।

सन् २०२४ को स्प्रिङ (अप्रिल–मे) मा सगरमाथा समेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए ।

‘राष्ट्रपति ज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनु भयो’, छिरिङले भनिन्, ‘यो सम्मानले मेरो एउटा सपना पुरा भएको छ ।’

छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । ‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरुले ज्यान गुमाउनु परेको छ । उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ । त्यसकारण उनीहरुको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ’, उनले भनिन् ।

दर्जन म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् ।

शेर्पा फिल्म ‘तिन्छेन फामा ’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’मार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । फिल्म ‘तिन्छेन फामा’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेतासमेत हुन् ।

तपाईको प्रतिक्रिया