विराटनगर – कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिनुभएको छ । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिनुभएको हो ।

उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गर्नुभएको छ ।

कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसक्नुभएको छ भने वर्णानुक्रमअनुसार रहनुभएका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिनुभएको छ । सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेख्नुभएको छ ।

यसैबीच प्रदेशसभाको आजको बैठकमा नेकपा (एमाले)का तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने प्रदेशसभा सचिवालयमा जानकारी गराउनुभएको प्रदेश सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यसैगरी आज बिहान साढे आठ बजे बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच दिउँसो १२ः१५ मा बस्ने सहमति भएको छ । आज विहानको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया