काठमाडौं  – ‘अंग्रेजी राम्रो, मेकअप म्याच गर्ने, हँसाइ राम्रो भएको, जिउडाल मिलेको, कपडा लगाउँदा फिगर राम्रो देखिने युवतीलाई १२/१५ लाख तिर्न कसैले गाह्रो मान्दैनन्,’ दुबईमा बन्धक बनाइएकी एक युवतीले भनिन्, ‘घरेलु कामदारका लागि भन्दै दैनिक विभिन्न देशबाट डिमान्ड आउँछन् तर हामीलाई बन्धक बनाएको नेपाली एजेन्टसँग कुरा मिलेको छैन।’

घरको आर्थिक अवस्था कमजोर भएकाले दुबई गएकी सिन्धुपाल्चोककी २२ वर्षीया ती युवतीले कक्षा १२ सम्म पढेकी छिन्। आमाबुवाकी प्यारी छोरी बनेर हुर्किएकी उनमा बिदेसिने चाहना भने पटक्कै थिएन। उनकी एउटी सानी बहिनी पनि छिन्। बुढेसकालमा जन्मिएका दुई छोरीको पढाइ र भविष्य कसरी सुन्दर बनाउन सकिएला भनेर बुवाआमाले चिन्ता लिने गरेको उनलाई थाहा थियो। बुवाआमाको त्यही चिन्तालाई खुसीमा बदल्ने र बहिनीको उज्ज्वल भविष्यका लागि जिम्मेवारी लिने संकल्प बोकेर उनी बिदेसिएकी थिइन्। तर उनले आफन्तबाटै यस्तो संकटको भुमरीमा फसिएला भन्ने सोचेकै थिइनन्।

अलिकति पढेलेखेकी र चिटिक्क देखिने भन्दै आफूलाई नेपाली एजेन्टले बढी मूल्यमा बेच्ने कोसिस गरिरहेको ती युवतीले बताइन्। ती एजेन्टले आफूलाई नराम्रो नजरले हेर्ने गरेको पनि उनको भनाइ छ। उनले यी सबै पिरव्यथा र बाध्यताबारे सामाजिक सञ्जालमा राखेर वैदेशिक रोजगार उद्धार केन्द्रसमक्ष सहयोगको याचना गरेकी छिन्।

भिजिट भिसामा दुबई पुगेर काम गरेर अलिकति पैसा कमाउने सोच उनमा थियो। तर दुबई पुगेर काम गर्ने त परको कुरा, व्यक्तिगत स्वतन्त्रता सबै गुमेको उनको भनाइ छ। एउटा बन्द कोठामा थुनिन विवश उनले दुबई टेकेयता परिवारसँगको सम्पर्क पनि टुटेको बताइन्।

नेपाली एजेन्टले ल्याएर आफूलाई थुनेको कोठामा अरू १३ नेपाली महिला पनि रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्। उक्त बन्द कोठाबाट १४ महिलाले उद्धारका निम्ति सामूहिक अपिल गरिरहेको वैदेशिक रोजगार उद्धार केन्द्र नेपालका अध्यक्ष इन्द्रलाल गोलेले बताए। ‘नेपाली महिला सबैभन्दा बढी कुवेत, इराक, ओमन र भारतमा बेचिएका छन्,’ उनले भने, ‘पुरुष भने कम्बोडिया, लाओस, भियतनाम, बर्मामा बेचिने गरेका छन्।’

उनका अनुसार पछिल्लो समय पढेका-नपढेका सबैलाई विदेश जाने हुटहुटी जागेको छ। विशेष गरेर सिप नभएका र नपढेकाहरूले विदेशमा विभिन्न समस्या झेल्नुपरेको अध्यक्ष गोलेले बताए। ‘शिक्षित युवती त विदेशी भूमिमा दुःखको जञ्जालमा पर्छन् भने अशिक्षित महिलाको त कुरै नगरौं,’ उनले भने, ‘धेरै महिलाले आफू बेचिएको थाहा पाउँदा पनि घरको ऋण, छोराछोरीको पढाइ सम्झेर शोषण, दुव्र्यवहार र अवहेलना खेपिरहेका छन्। आफन्त, दाजुभाइ तथा दिदीबहिनीबाट धेरै नेपाली महिला बेचिएका छन्।’

‘सामाजिक सञ्जालमार्फत दलालसँग सम्पर्क राख्ने, दलालहरूले फोटो पठाइदेऊ भनेपछि फोटो पठाइदिने, तपाईंको फोटो धेरै लुगा लगाएको भयो अलि कम लुगा वा छोटा लुगा लगाएको फोटो चाहिएको हो भनेपछि त्यस्तै फोटो पठाइदिने गरिएको पाइएको छ। यसरी जानेहरू अझ बढी पीडित बन्ने गरेका छन्,’ वैदेशिक रोजगार उद्धार केन्द्रका अध्यक्ष गोलेले भने।

उद्धार केन्द्र नेपालका अध्यक्ष गोले पनि महिलाको अनुहार हेरेर मूल्य तोकिने गरेको भन्दै दुःख व्यक्त गर्छन्। उनका अनुसार दुबईमा कोठामा बन्धक बनाएर राखिएका ती महिलालाई बाहिरबाट ताल्चा लगाएर राखिएको खबर सामाजिक सञ्जालमार्फत पाइएको हो। उनीहरूले उद्धारको पुकार गरिरहेको र कसरी नेपाल ल्याउने भनेर पहल भइरहेको उनले बताए।

‘दुबई पुगेर बन्धक बनेका १४ महिलामाथि पनि मोलमोलाइ भइरहेको छ। वास्तवमा त्यहाँबाट अर्को ठाउँ जान नमानेपछि उनीहरू दुई महिनादेखि बन्धक बनाइएका हुन्। उनीहरूको उद्धारका लागि हामीले पहल गरिरहेका छौं,’ उनले भने, ‘बचाऊ बचाऊ भन्दै दुबईको एक कोठाबाट महिला चिच्याइरहेको खबर सामाजिक सञ्जालमार्फत आएको छ। सबै मोबाइल एजेन्टले खोसिदिए पनि समूहकी एक जनाले लुकाएर राखेकी रहिछन्। त्यही मोबाइलबाट उद्धारको माग गर्दै नेपालसम्म खबर पठाउन सम्भव भएको देखियो।’

अध्यक्ष गोलेका अनुसार विदेशमा नेपाली चेलीबेटीले नेपाली महिलालाई बेचबिखन गर्ने बजार बनाएका छन्। ‘विदेशमा राम्रो कामको प्रलोभन देखाएर महिलालाई विदेश पुर्‍याएर बेचबिखन गर्ने कार्य व्यवसायकै रूपमा फस्टाएको छ। यस्तो व्यवसायमा नेपाली एजेन्टको संलग्नता धेरै देखिन्छ,’ उनले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुई सयभन्दा बढी महिला भिजिट भिसामा बिदेसिन्छन्। ‘त्यो कसले रोक्ने? घरको आर्थिक अवस्था कमजोर भएका महिला किन जान्छन् विदेश घुम्न? यी र यस्ता प्रश्नको उत्तर खोजीमा सरकारको खासै भूमिका देखिन्न। सबैको आँखाले देखिरहेका छन्। तापनि नदेखेझैं किन गर्छन्?’ गोलेले भने।

गाउँदेखि सहर, सहरदेखि विदेश पठाउने कार्यमा योजनाबद्ध रूपमा नेपाली एजेन्ट लाग्ने गरेको अध्यक्ष गोलेले सुनाए। ‘मानव तस्करीमा त्यसरी लाग्नेमा सबैभन्दा बढी सक्रिय महिला नै रहेका छन्,’ उनले भने, ‘महिलालाई विदेश पुर्‍याउन महिला नै लागे सहज हुने भएकाले त्यस्तो गरिएको हुन सक्छ। नेपालको कानुनअनुसार उद्धार प्रक्रिया धेरै लामो र झन्झटिलो हुने भएकाले बेचिएका चेलीबेटीलाई तत्काल उद्धार गर्न भने गाह्रो छ। बन्धक तथा मानव बेचबिखनमा परेका पीडित महिलाको दुःख सुन्दा आजै उद्धार गरौं, भोलि नै स्वदेश फर्काऔं भन्ने त लाग्छ नि तर भनेजस्तो सजिलो छैन।’

नेपालमा कानुन भए पनि त्यसको ठिक समयमा सही सदुपयोग हुन नसकेको बताए। ‘अरू देशका नागरिक अर्को देशमा आपत्विपत्मा परेका छन् भने तुरून्त उद्धार कार्य सुरु हुन्छ,’ उनले भने।

यसरी दिनहुँ कैयौं युवती तथा महिलाहरूलाई मोलमोलाइ गर्दै नेपाली एजेन्टमार्फत विदेशमा घरेलु कामदारका रूपमा लैजाने गरिएको छ। नेपालबाट भिजिट भिसामा दुबई पुर्‍याइएसँगै त्यहाँबाट एजेन्टले घरेलु कामदारका रूपमा अन्य देशमा पठाउने गरेको खबर आउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी नरहरि रेग्मीले पनि बताए।

नेपाली एजेन्टले विदेशमा सुविधासहितको राम्रो तलबको आश्वासन देखाएर विभिन्न माध्यमबाट गन्तव्य मुलुक पुर्‍याउँछन्। विदेशमा नेपाली एजेन्ट भएको ठाउँमै पुगेपछि बेचबिखन सुरु हुन्छ। त्यहाँ नेपाली दलालहरूले कामदार चाहिनेसँग उमेर, अनुहार, शरीर हेरेर पैसाको मोलतोल गर्छन्,’ रेग्मीले भने, ‘हरेक कोणबाट महिला राम्री छन् भने दलालले भनेअनुसारको पैसा तिर्ने गर्छन्।’

रेग्मीका अनुसार महिलालाई सिधै घरेलु कामदारका रूपमा लैजान पाइँदैन। त्यसकारण विभिन्न माध्यमद्वारा उनीहरूलाई विदेश पुर्‍याइन्छ। एउटा तरिका भिजिट भिसामा दुबई पुर्‍याउने पनि हो। दुबईबाट भने ओमान, बहराइन, कुवेतलगायत मुलुकमा घरेलु कामदारका रूपमा पठाउँछन्। त्यसका लागि दलालहरूले घरमालिकसँग मोटो रकम लिने गरेका छन्।

वैदेशिक रोजगार संघले भिजिट भिसालाई रोक लगाउनुपर्ने माग राख्दै आएको छ। भिजिट भिसामा जाने नेपालीले विदेशमा गएर निकै दुःख पाउने गरेको भन्दै सरकारले समयमै त्यसलाई रोक्न नसके भोलि भयावह अवस्था आउने संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।

वैदेशिक रोजगार उद्धार केन्द्र नेपालले १४ वर्षमा विभिन्न देशमा अलपत्रमा परेका करिब ७ सय नेपालीलाई उद्धार गरेको अध्यक्ष गोलेले जानकारी गराए। त्यस्तै वैदेशिक रोजगार उद्धार केन्द्र नेपालको तथ्यांकअनुसार विदेशमा निधन भएका सयभन्दा बढी र करिब ६० जना अंगभंग भएका नेपालीलाई उद्धार गरिएको आजको नागरिक दैनिकमा समाचार छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट मात्रै २०७५/७६ देखि हालसम्म कुल उद्धार संख्या करिब १ हजार ३ सय पुगेको छ। त्यसमा महिला मात्र नभएर पुरुष, बालबालिकासमेत रहेको ब्युरोको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया