काठमाडौं – नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वागमती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न भएको छ ।

शुक्रबार राष्ट्रिय नाचघर जमलमा साङ्गीतिक कार्यक्रम सहित प्रशिक्षण कार्यक्रम समापन भएको हो । कार्यक्रममा प्रशिक्षार्थीहरुले प्रशिक्षणका दौरान सिकेको आ-आफ्ना आकर्षक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

पुष १६ गतेदेखि काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा दुई हप्ता सात वटा लोकबाजाबारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षणको दौरान कम्तीमा १३५ जना बढी युवाले लिम्बु जातिको च्याब्रुङ,राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारङ्गी बाजा बारे प्रशिक्षण लिने अवसर पाएका छन् ।

च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमा दीपेश राई, धिमेबारे नरेश प्रजापति, तुङ्नाडम्फुमा छेवाङ तेन्जिङ लामा, बाँसुरीमा गोपालनाथ घतानी, सारङ्गीमा भरत नेपाली र तालवादनमा भरत बुढाथोकीले प्रशिक्षण दिएका थिए । लोकबाजासम्बद्ध सामुदायिक संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापति खलसँग आवश्यक परामर्श सहित स्थानीय व्यवस्थापनका लागि सहकार्य गरिएको थियो।

प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसगको धार्मिक,साँस्कृतिक सम्बन्ध बारे जानकारी दिदै वरिष्ठ संगीत बिज्ञहरुबाट संगीतिक अन्तरक्रिया तथा कार्यशालाको समन्वय गरि कार्यक्रम संचालन गरिएको प्रतिष्ठानका सङ्गीतविभाग प्रमुख प्राज्ञ अशोककुमार राईले बताए ।

संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले विभिन्न कारणले नेपालको लोकसंस्कृतिको दस्तावेज तयार गर्न राज्यपक्ष पछि परेको बताउनु भयो ।उहाँले थपे देशजतिकै संस्कृति महत्वपूर्ण रहने चर्चा गर्दै संस्कृति खरानी भए हामी बाँकी रहँदैनौँ ।

त्यसै गरी संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले युवापुस्तामा सामाजिक सञ्जाल, मिडिया, सूचनाप्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानुले लोकसंस्कृति संरक्षण गर्न यस्ता प्रशिक्षणले निरन्तरता पाउनुपर्ने बताए । साथै माघको दोस्रो हप्ताबाट सर्लाहीको हरिवनमा ढोलक तथा मादलको प्रशिक्षण सन्चालन हुने जानकारी पनि गराए ।

तपाईको प्रतिक्रिया