Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित बनेको छ । सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको रूप लिएको भन्दै सार्वजनिक रूपमै आमनागरिकलाई सचेत गराएको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर विश्वव्यापी अध्ययनले नै एन्टिबायोटिकलाई जीवाणुले जित्न थालेको पुष्टि गरेकाले चुनौती थपिएको बताएको हो ।

‘पुरानै ढर्रामा उत्पादिन एन्टिबायोटिकले रोगका जीवाणु मार्न नसकेको विश्वव्यापी अनुसन्धानले देखाएको छ,’ मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहले भने, ‘बिरामीले आवश्यकताविना यस्ता एन्टिबायोटिक प्रयोग गर्नु झन् खतरनाक हुन्छ ।’

एन्टिबायोटिकको क्षमता कमजोर भएपछि मानिसहरू सामान्य स्वास्थ्य समस्यामा पनि खतरामा रहेको डा. सिंहले बताए । जबकि ८० वर्षदेखि प्रयोगमा ल्याइएको एन्टिबायोटिकले सन् १९९५ सम्म रोग निको बनाउन सक्थ्यो ।

एन्टिबायोटिकको गलत प्रयोगले झन् समस्या बढाएको स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव बताउँछन् । ७ दिन खाने भनेको एन्टिबायोटिक ४ दिन खाएर छाड्ने चलनले पनि ठूलो समस्या निम्त्याएको उनको भनाइ छ ।

पशुसेवा विभागकी उप–महानिर्देशक डा. सम्झना काफ्लेले कूल खपतको दुईतिहाइ एन्टिबायोटिक पशुमा प्रयोग हुने बताइन् । रुघाखोकी लागे पनि एन्टिबायोटिक दिने, माछा, कुखुरा, पशुपक्षी र उसले खाने दानामा पनि दिने कारण एन्टिबायोटिकले रोगसँग लड्ने क्षमता कमजोर भएको काफ्ले बताउँछिन् ।

तपाईको प्रतिक्रिया