Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 साहित्यकार  ताराबहादुर बुढाथाेकी 

संखुवासभा – सभापोखरीको धारावाहिक संस्मरण श्रृङ्खला लेख्दै थिएँ। सामाजिक सन्जालको वालमा एउटा समाचार आयो। समाचारले मेरो हृदय पुलकित बनायो । समाचारमा लेखिएको थियो । ‘भोजपुरकी मिरा रार्इको बाटोमा संखुवासभाकी सिर्जना।’

समाचार सायद उर्लाबारीतिरबाट संम्प्रेषित थियो । खुशी यस कारण थिएँ कि सिर्जना संखुवासभाकी प्रतिभा हुन्। समाचारमा थप लेखिएको थियो सिर्जनाले ७ किमीको दुरी ३४ मिनटमा पार गरिन्। उनका निकटतम् प्रतिद्वन्द्वी उनीभन्दा पाँच मिनेट ढिलो गरी लक्ष्यमा आइपुगेका थिए। अझै खुशी लाग्यो किन कि उनी खाँदबारीमा मेरो घर सामुन्ने डेरा गरेर बस्छिन् । उनको घर म भर्खर दर्शन गरी फिरेको सभापोखरी गाउँपालिका ज्यामिरे हरेलोमा पर्छ। यो मेरो गाउँ चिचिला गाउँपालिका –१ को साँधमा छ।

हुन त म सभापोखरीबाट आउँदा त्यहाँको पाती प्रसाद सर्वप्रथम यिनैलाइ दिएर भनेको थिएँ । सधै दौडमा प्रथम हुनू। उनले पनि हस् सर , भनेकी थिइन् । उसो त योभन्दा पहिले पनि उनले धेरै दौडमा भाग लिएर सधैजसो प्रथम र दुर्इचोटी मात्र दोस्रो स्थान हाँसिल गरेको इतिहास छ । सुनौला तक्माहरू र रङ्गिन प्रमाण पत्रहरू यिनका सम्पत्ति हुन्। किसान भएर पनि भरलाग्दो खेतबारी छैन यिनका बाबाको । हिमालय मावि खाँदबारीमा कक्षा १२ मा पढ्ने सिर्जनासँग ११ मा पढ्ने एउटा भाइ पनि सँगै बस्छ । घरमा अरू दुर्इदिदी बहिनी र एउटा भाइ छ भन्छिन् । मैले ख्याल गरेसम्म कहिल्यै नरम चामल र रसिलो सब्जी पाक्दैन यिनका डेरामा।

जनज्योति मावि धुपूमा कक्षा नौँ मा पढ्दा भएको राष्ट्रपति रनिङशिल्डमा भाग लिएर यिनी दौडमा प्रथम भएपछि सिर्जनाको खेल करियर शुरू भएको हो । हरेक प्रतियोगितामा आफैँ ऋण खोजेर सहभागी हुन जान्छिन् र पुरस्कार जितेर तिर्छिन। कतिपय टाढाका र ठुला प्रतियोगितामा खर्च नपाएर जानै नपाउने यिनको बाध्यता छ । बल्ल एकपटक जिल्ला खेलकुद बिकास समिति (जिखेस) संखुवासभाले आधिकारिक सहभागिता जनउँदा पनि यातायात खर्च मैले दिएर पठाएको थिएँ। जिखेसका सभापति भरतकुमार घिमिरेले निकै महत्वपूर्ण आयोजनाहरू र सहभागिता गरेर जिल्लालार्इ खेलकुद मार्फत चिनाएका छन्। उनको ध्यान पनि भलिबल,फुटबलजस्ता ठुला खेलतिर मात्र गए जस्तो छ।

गाउँबाट उदाएका यस्तो बेजोड एथलेटिक्स र दौडका एकल प्रतिभालाइ समय समयमा २/४ हजार खर्च दिएर सहभागितामा पठाउने नीति रहे जस्तो बुझिएन। प्रतिभा संरक्षण योजनाको त कुरै भएन । यस किसिमका ब्यबस्था भए गाउँ कुनाका खेल प्रतिभा २/४ हजारकै अभावले कुन्ठित हुनु पर्ने थिएन कि ?

प्रत्येक दिन विहान लभिङ हिल (भेडेटार) लभिङ हिल करिब ७ किमी भाइहरूसँगै दौडेर स्किपिङ र योगा लगायत जिम्न्याष्टिक गरेपछि शुरूहुन्छ सिर्जनाको दैनिकी। क्याम्पस जानु, कम्प्युटर क्लास जानु, खाना पकाउनु, राति दशबजेसम्म पढ्नु यिनको दैनिकी छ। हप्तामा एकपटक हरेलो पुगेर घरबाट खाने सामग्री ल्याउने काम गर्छिन। ताल परे डेराबाट हिडेको चार घन्टामा घर पुगेर डेरा आइपुग्छिन् । अचम्म जान नै पाँच घण्टा लाग्छ मलार्इ त । मासु सायद तीन महिनामा एकचोटी खाँन्छन्। कहिले स्कुस, कहिले गुन्द्रूकमा नुनपानी हालेर तिहुन् खान्छन्।

दुध, फुल, घिउ, गेडागुडी त गरिबको छोराछोरी भागमा पर्ने योजना नेपालमा कुन सरकारले पो ल्यायो र ? अझ सिर्जना हप्तामा कैयौँ छाक भोकै बस्छन्। म मेरो स्कुले जीवन सम्झन्छु। त्यस्तै थियो मेरो पनि। टुलुटुलु हेरेर त बस्दिन तर कति पो हुन्छ र अरूको दयाले ? मैले प्रतिभाको फुल नओइलाओस भनेर खाने तरिका सिकाएको छु। अलि सुधारेका छन् खान्कीमा। एउटा खेलाडीले स्टामिनाको लागि न्युनतम जति खानु पर्छ, त्यसको दशमा दुइ भाग हुँदो हो, यो गुण र मात्रा।

त्यसैले त विरामी पनि हुन्छिन् सिर्जना। पेट दुख्छ रे उनको । अन्तरमुखी अल्पभाषी छन् । सुनाउन चहान्नन् अन्तरवेदना अरूलार्इ । भाइले सुनाउँछ । खाद्य तत्व कम र मेहनत बढी भएर नै दुख्छ होला। भर्खरै पनि उनी विरामी थिइन्। ऋण खोजेर गइछन् दौडमा भाग लिन। प्रथम भइछन् । मैले धुपु स्कुलका शिक्षक साथी कुलबहादुर भट्टरार्इलार्इ पनि सुनाएँ, सभापोखरीकी शान हाम्रो स्कुलको उत्पादन,जनज्योतिकी स्वाभिमान , भन्नु भो।

विचरा शिक्षकको पेशै यस्तो । सिप सिकाउने अनि पछि गर्व गरेर बाँच्ने। अरू शिक्षकले के नै पो गर्न सक्छ र । हातमा पावर होस् न, टुपीमा टावर होस् , कम्तिमा शिक्षकै भए नि म त लेख्न सक्छु लेखि पो दिनुपर्यो भनेर लेख्या। पत्रकार भए त कतै छापिन्थ्यो कि । कुनै प्रिय पत्रकारले छापे त हुन्थ्यो। नाम पो फेरि आफ्नै हाले भने बित्यो। पिरैपिर यो माष्टरलार्इ ।

अँ म भन्दै थिएँ। सभापोखरीको शान भनेर। त्यसै हो भने गाउँपालिका स्थानीय सरकार हुन्। पोखरी, पार्क, बाचनालय, पुस्तकालय, खेल मैदान, रङ्गशाला, संग्राहलय, मन्दिर, पाटी, मावि शिक्षक, खेलकुद, खेलाडी, कला, साहित्य, भाषा जस्ता कुराको निर्माण, संरक्षण सम्बर्धन, प्रबर्धन त स्थानीय तहको जिम्मेवारी भित्र पर्छ नि। डोजरले पहाड भत्काएर धुलो उडाउँदै ठाउँ ठाउँमा पहिरो गए नि जान्छ भनेर बाटो खन्नु मात्र बिकास होइन भन्ने जनप्रतिनिधिले बुझ्न पर्छ। सक्षम जनशक्ति उत्पादन गरेर उपयोगमा ल्याएमात्र दिगो विकास हुन्छ। सिर्जना रार्इ खेल क्षेत्रमा दक्ष जनशक्ति हो। सिर्जना रार्इहरू जस्ताको निर्माणमा अब लगानी गर्नु पर्दैन । बस् संरक्षण, उपयोग र अवसर दिए पुग्छ। बर्षमा एक डेडलाख खेल प्रतिभा संरक्षण र सहभागितामा छुट्याए पुग्छ।

सिर्जनाले अवसर र माया दिए सभापोखरीलार्इ महिला धावकको भूमि भनेर छिट्टै चिनाउन सक्छिन्। संसारमा प्रतिभा लगानीबाट मात्र जन्मिने कुरा होइन। र्इश्वरीय बरदान पनि हो। सिर्जनाले प्रशिक्षण पनि दिन सक्छिन् । प्रतिभाहरू प्रतिमाको भोका मात्र हुदैनन् समयमै पहिचान गरेर सहयोग र संरक्षण गरौँ । जसरी खेम गुरूङको जिल्ला भनेर चिनिन्छ नि , त्यसरी नै नेपाललार्इ सिर्जनाको देश भनेर चिन्नेछ संसारले। उचित खानपान र प्रशिक्षण पाउने हो भने ओलम्पिक ट्रयाकमा नेपाली झण्डा बोकेर सिर्जना रार्इ कुदेको देख्ने दिन पनि आउन सक्छ।

सिर्जना रार्इ सभापोखरीको छोरी भएर यो संसारमा कद्नका लागि जन्मिएकी हुन् । मेरो त मूल्याङ्कन गरेर आँखा देखाइ दिने काम न हो । गर्ने रत्न सुब्बा दाइ, शेरधन दाइ र केपीबाहरूले हो। बुझ्नु नि ……

( साहित्यकार बुढाथोकी हिमालय मावि, खाँदबारीका शिक्षक हुन् )

तपाईको प्रतिक्रिया