काठमाडौं – जनसाहित्यिक मञ्च नेपालले आयोजना गरेको अविरल जनसाहित्य यात्रा–४५ औँ  श्रृङखला सम्पन्न भएको छ । मधु पोखरेल र जीत कार्कीले छिमेकीबाट भएको सीमा मिचाइ, युवा पलायन,  बोक्सी–छाउपडी–आत्महत्या घटनाको विरोध गर्दै गजल वाचन गर्नुभएको थियो ।

स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको ४५र्औ शृङ्खलामा अहिलेको समयका सशक्त प्रगतिवादी गजलकारहरू मधु पोखरेल र जित कार्कीलाई ल्याइएको र उहाँहरूले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिकाका बारेमा समेत चर्चा गर्ने उद्देश्य रहेको जानकारी राम विनयले दिनुुभयो । गजलमाथि टिप्पणी गर्दै उपप्राध्यापक रुपक अलङ्कारले दुवैका गजलमा राष्ट्रवादिता र आशावादिताका साथै प्रेमप्रणयका विषय पनि झल्किएको बताउनुभयो ।

मञ्चका काव्य विभाग प्रमुख डा. विन्दु शर्माले जनसाहित्य यात्रामा कविता मात्र वाचन गरिएकामा गजल वाचनलाई पनि मौका दिइएको बताउनुभयो । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई प्रमुख अतिथि रहुनभएको उक्त विशेष समारोहमा महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, जनकलाकार माननीय सानु पहाडी,  वरिष्ठ साहित्यकार डम्बर घिमिरे, डा.विदुर चालिसे, डा.षडानन्द पौड्याल, वरिष्ठ कवि तारा गाउँले, साहित्यकार डम्बर पहाडी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गजल निकै शक्तिशाली र प्रभाव छाड्ने खालका हुँदारहेछन् भन्नुभयो । चार वर्षअघि शुरु भएको जनसाहित्य यात्रामा हालसम्म राजधानी र मोफसलका ५० जनाले कविता र गजल वाचन गर्नुभएको छ । उक्त कार्यक्रमको सञ्चालन भने मञ्चकी काव्य विभागकी संयोजक डा.विन्दु शर्माले गर्नुभएको थियो ।

मिचेको छ सीमा, चलेको छ गोली

उही भन्छ खेलौँ न सद्भावको होली– मधु पोखरेल,

सुनाऊँ के गरी आफैँ म हारेको कथा हो यो
मलाई जिन्दगीले भष्म पारेको कथा हो यो –जीत कार्की

तपाईको प्रतिक्रिया