Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अविन

काठमाडौं – पत्रकार तथा लेखक कृष्ण सुनुवारको उद्घोषण सम्बन्धि कृति ‘उद्घोषण शिक्षा’ आठौं संस्करणको रुपमा अहिले बजारमा आएको छ।

पुस्तकलाई दोस्रो संस्करण देखिनै निरन्तर रुपमा विद्यार्थी पुस्तक भण्डार भोटाहिटी काठमाडौंले प्रकाशनमा ल्याईरहेको छ। पुस्तकमा उद्घोषण सम्बन्धी निकै उपयोगी सैद्धान्तिक ज्ञानका साथसाथै वाककला संग सम्बन्धित रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम, अन्तर्वार्ता कला, भाषण कला तथा नेतृत्व कला जस्ता विषयहरुलाई पनि बिस्तारमा समेटिएको छ ।

खास गरि उबेला रेडियोकर्मी (R.J.) र टेलिभिजनकर्मी (V.J.) को क्षेत्रमा आफ्नो भविष्य खोज्न चाहने युवा जमातलाई लक्षित गरि २०६१ सालतिर प्रकाशन थालनी गरिएको उद्घोषण शिक्षाको पछिल्लो संस्करणहरुमा धेरै पाठक, पत्रकार तथा समिक्षकहरुको समेत सुझावलाई समेट्दै समय सान्दर्भिक बनाउदै लैजाने क्रममा अहिले भने यस विषयहरुको प्राविधिक पक्षहरूको पनि थुप्रै जानकारीहरु समेटिएको छ । पुस्तकको बारेमा छोटोमा भन्ने हो भने उद्घोषणको इतिहास जान्न चाहने र यो पेशामा भविष्य खोज्न चाहने दुबै पक्षको लागि यो एउटा संग्रहणीय कृति हो । उसो त बोल्ने कला समाजमा हरेक क्षेत्रमा काम गर्ने मान्छेहरुको निम्ति उत्तिकै उपयोगी र महत्वपूर्ण कुरा हो । त्यसरी हेर्ने हो भने त झन यो पुस्तकको उपयोगिता र सान्दर्भिकता व्यापक देखिन्छ ।

उद्घोषण शिक्षा कृतिको लागि लेखक कृष्ण सुनुवारलाई वरिष्ठ रेडियोकर्मी एवं साहित्यकार दाहाल यज्ञनिधिले शुभकामना दिदै लेखेकाछन् ‘राज्यसत्ताले उत्पीडिनमा पारेको जाती र निम्न बर्गिय परिवारको सदस्य हुँदाहुँदै पनि उद्घोषण जस्तो अमूर्त कला माथि अनुकरणीय चासो र चिन्ता राखेर यो परिणाम दिएकोमा स्याबास’। त्यस्तै पुस्तकको भुमिका लेख्ने क्रममा अर्का वरिष्ठ रेडियोकर्मी एवं साहित्यकार नवराज लम्सालले भनेकाछन् ‘कृष्ण सुनुवारको यो सार्थक प्रयास हो। उद्घोषण विधामा एउटा भरपर्दो लिखित दस्तावेज आउनु जरुरी थियो। यो काम उनिबाट सुरुवात भयो यो सर्हानीय छ।’ लम्साल अगाडि थप्छन् ‘पुर्ण व्यावसायिक ज्ञानको अभावमा अर्धचेतनामा जसोतसो कामचलाउ उद्घोषणको ब्यापार संचालन गरिरहेको ब्यक्तिहरुको लागि त यो गीता नै हुनेछ’ ।

आफू भन्दा अग्रज स्रस्टाहरुको राम्रो प्रशंसा बटुलेका लेखक सुनुवार स्वयंको भनाइमा चाहिँ ‘उद्घोषण शिक्षा एउटा सिकाइ,भोगाइ र अनुभवको हस्ताक्षर हो। आफुले उद्घोषण सिक्छु भन्दा राम्रो संग सिक्ने ठाउँ पनि नपाएको र पढ्छु भन्दा भरपर्दो पढ्ने सामग्री पनि नपाएको कुण्ठाले गर्दा मनमा यो पुस्तक लेख्ने हुटहुटी जाग्यो’। उनी अगाडि सुनाउछन् ‘पछिल्लोपटक आफुले उद्घोषण विषय पढाउन थालेसंगै आफ्नो विद्यार्थीहरुले स्रोत सामग्रीहरुको जोडदार माग गर्न थालेपछि त झन त्यो हुटहुटीलाई मुर्तरुप दिने निश्चयनै गरें र परिणामस्वरूप यो पुस्तक आयो’।

शुरुमा प्रकाशन ‘उद्घोषणसंसार’ नामबाट थालनी भएको सुनुवारको कृति बिचमा ‘उद्घोषण दर्शन’ नाममा क्रमश दुई संस्करण आएपछी अहिले पछिल्लो आठौं शृंखलासम्म आउँदा लगातार पाँच संस्करण भने उद्घोषण शिक्षाको नाममा प्रकाशित छन् । पाठकहरुको निरन्तर साथ र प्रेरणा पाउँदै आएको सुनुवारको कृति उद्घोषण शिक्षा आगामी दिनहरुमा पनि उत्तिकै प्रिय बनिरहोस् । शुभकामना ।

तपाईको प्रतिक्रिया