काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपा संसदीय दलको आजको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।
सो पार्टीका सचेतक निशा डाँगीले दबाबमुलक कार्यक्रम अनुसार मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर ल्याउने निर्णय भएको बताइन् । ‘दबाब कार्यक्रम अनुसार मेलम्ची बजारमा २१ जना सांसद सबै भेला भएर खाली घैलो लिएर आयोजनास्थल जाने र पानी भरेर फर्किने कार्यक्रम तय भएको छ’, सचेतक डाँगीले भनिन् ।
सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा गैरसरकारी विधेयकको तयारीबारे समेत छलफल भएको थियो । सचेतक डाँगीका अनुसार पूर्व निधारित मुद्दाअनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको तयारी र पार्टीका सासदलाई विधेयकसम्बन्धी गरेको तयारीका विषयमा पनि आजको बैठकमा छलफल भएको थियो । ‘गैरसरकारी विधेयक दर्ता गर्नु मात्र ठूलो कुरा होइन, त्यसलाई पास हुने गरी काम गर्ने विषयमा छलफल भयो । मुख्यत पाँच गैरसरकारी विधेयकको तयारी गरिरहेका छौँ, त्यसबारे छिट्टै सार्वजनिक गर्नेछौ ।’