घोराही – घोरदौरा घोराही बजारदेखि नजिकै रहेको बस्ती हो । जिल्लाको मुख्य केन्द्रदेखि करिब छ किलोमिटरको दुरीमा रहेको उक्त बस्तीमा अहिले खानेपानीको चरम सङ्कट देखिएको छ । गर्मी बढेसँगै करिब सात/आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको धारा सुकेपछि यस्तो समस्या आएको हो । यहाँका करिब ६० देखि ७० घरपरिवार एकै ठाउँको पानी खान बाध्य छन् ।

घोराही उपमहानगरपालिका–१८, घोरदौरा निवासी ५७ वर्षीय  शोभा अधिकारी करिब एक घण्टा तल रहेको धरमपानीमा रहेको धाराको पानी गाउँभरिकाले खानुपर्ने अवस्था भएको बताउनुहुन्छ । गाउँमा पानीको सङ्कट भएसँगै खानेपानी भर्न अचेल घोरदौरावासीलाई बिहान २/३ बजे नै उठ्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

गाउँमा पानीको सबैभन्दा धेरै सङ्कट रहेको भन्दै अधिकारी पानी नहुँदा घरको भान्सादेखि व्यक्तिगत सरसफाइसम्म समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँमा पानीको स्रोत छैन । अर्को गाउँदेखि ल्याएको पानी सुकिसक्यो । त्यसैले अहिले एक घण्टा हिँडेर घरदेखि तल खोलामा रहेको धारामा जानुपर्ने बाध्यता छ ।” त्यसमा पनि एउटै धारामा  ५०/६० घरकाले पानी भर्नुपर्ने भएकाले लाइन बस्नुपर्ने उहाँले बताउनुभयो ।

उज्यालोमा पानी भर्दा घण्टौँसम्म लाइन बस्नुपर्ने र कहिलेकाहीँ लाइनमै बसेका बेला धारा सुक्ने भएकाले धेरैजसोले राति नै पानी भर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँभरिकाले एकै ठाउँमा रहेको धारामा पानी भर्नुपर्ने भएकाले धारामा भिड हुन्छ । त्यसैले पुरुषहरू राति नै आएर पानीको व्यवस्था गरिहाल्छन् ।”

घरनजिकै रहेको धारामा पानी सुकेपछि करिब पौने घण्टा हिँडेर पानी ल्याउन धरमपानी आइपुगेको उपल्लो घोरदौरा निवासी सरस्वती विक बताउनुहुन्छ । डोकोमा गाग्रीसँगै बोतल र हातमा जर्किन बोकेर पानी भर्न धारामा आएकी विकले भन्नुभयो, “गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट हुन्छ ।” धारामा आउँदा ओरालो भएकाले सहज भए पनि फर्कंदा डेढ घण्टासम्म उकालो हिँड्नु पर्छ । एक ग्रागी पानी भर्नकै लागि करिब १५/२० मिनेट लाग्ने र त्यसैमा कुर्नुपर्ने भएकाले धेरै समय लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

सुक्खायाम सुरु भएसँगै खानेपानीको दुःख भएको घोरदौराकै झिनीगाउँ निवासी सिर्जना भण्डारी बताउनुहुन्छ । पालो कुर्दा र ग्रागीमा पानी भर्दा दुई घण्टा लाग्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँमा पानी आउन बन्द भएपछि घरनजिकै ठुलो पँधेरा भन्ने ठाउँमा जाने गर्थ्यौं तर त्यहाँ पनि पानी सुकेपछि अहिले घोरदौरा आउने गरेकी छु ।”

गाउँमा खानेपानीको चरम सङ्कट भएको बेला प्रदेश सरकारले निर्माण गर्दागर्दै अलपत्र पारेको सांस्कृतिक डबली नेतालाई कमाउने माध्यम बनेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सांस्कृतिक डबली बनाउने भनेर अलपत्र छ । त्यो पैसा खानेपानीमा लगाएको भए आज हामीलाई दुःख हुने थिएन ।’’  आजको गोरखापत्रमा समाचार छ ।

पानीकै कारण सुक्खा मौसममा घरमा आफन्त पनि नआऊन् भन्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले भन्नुभयो, “घण्टौँ हिँडेर ल्याएको एक गाग्री पानी खाना पकाउन र भाँडा माझ्न ठिक्क हुन्छ । व्यक्तिगत सरसफाइ र शौचालय प्रयोगमा समस्या छ । पानीकै कारण पाहुना पनि नआइदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ ।” घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्यालले अहिले काम भइरहेकाले आगामी वर्षसम्म खानेपानीको समस्या हट्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया