काठमाडौं – सामुदायिक रेडियो प्रसारक सङ्घ (एको¥याब) को आशन्न निर्वाचनका लागि पत्रकारितासँग सम्बन्धित विभिन्न पाँच सङ्गठनले चुनावी गठबन्धन गरेका छन् । एको¥याबको मङ्गलबार हुने सातौँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल (साविक प्रेस चौतारी नेपाल), प्रेस मञ्च नेपाल, प्रगतिशील पत्रकार सङ्गठन र मिडिया नेपालले गठबन्धन गरेका हुन् ।

आज यहाँ भएको भेलामा पाँचै सङ्गठनका अध्यक्षले एको¥याबको केन्द्रीय र प्रदेश समितिका विभिन्न पद बाँडफाँट गरी निर्वाचनमा जाने घोषणा सार्वजनिक गरेका हुन् । एको¥याबको केन्द्रीय समितिको अध्यक्ष, उपाध्यक्ष (दलित र जनजाति) र महासचिव पद युनियनले, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ९महिला० र कोषाध्यक्ष पद प्रेस सङ्गठनले, उपाध्यक्ष (मधेशी )र सचिव पद प्रेस मञ्चले भागबन्डा गरेका छन् । बाँकी सङ्गठनले सदस्यमा भागबन्डा पाउने गरी गठनबन्धन गरिएको छ ।

यसैगरी युनियनले सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश अध्यक्ष, प्रेस सङ्गठनले कर्णाली, वाग्मती र प्रदेश नं १ को अध्यक्ष तथा प्रेस मञ्चले प्रदेश नं २ को अध्यक्ष लिने सहमति भएको छ । भेलालाई सम्बोधन गर्दै युनियनका अध्यक्ष बद्री सिग्देलले आफूहरुको नेतृत्वमा सबै विचार र समूहका सङ्गठनलाई मिलाएर पत्रकारसँग सम्बन्धित सबै संस्थालाई साझा चरित्रका सङ्गठनका रुपमा अघि बढाउन चाहेको बताउनुभयो । साथै उहाँले गठबन्धनमा महेश्वर दाहाल नेतृत्वको प्रेस सङ्गठन नेपाललाई पनि सहमति गरी सर्वसम्मतिको वातावरण निर्माण गर्न आफू लागिपरेको जानकारी गराउनुभयो ।

प्रेस सङ्गठनका अध्यक्ष गणेश बस्नेतले एको¥याब जस्ता संस्थाको व्यावसायिकता र साझा चरित्र बचाउन गठबन्धन गरिएको बताउँदै सदस्य सङ्ख्याअनुसार पदको बाँडफाँट गरिएको जानकारी दिनुभयो । कसैलाई निषेध गर्ने आफूहरुको नीति नरहेको बताउँदै अध्यक्ष बस्नेतले सहमतिको इमान्दारिताका साथ पालनाका लागि सबैलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वध्यक्ष एवं नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस चौतारीका पूर्वाध्यक्ष राजेन्द्र अर्याल, देशान्तर मिडिया ग्रुपका अध्यक्ष एवं वरिष्ठ पत्रकार कवीर राणा, पत्रकार महासङ्घका सचिव रामप्रसाद दाहाल, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, प्रगतिशील पत्रकार सङ्गठनका अध्यक्ष उदय जिएम, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेललगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया