चितवन – जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ । जसपा चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै जनताको बलबाट भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।” पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले पार्टी एकताको प्रक्रिया केही समयमा नै टुङ्गाएर अघि बढ्ने योजनासहित अघि बढेको जानकारी दिनुभयो । “पार्टीलाई वैकल्पिक शक्तिका रुपमा विकास गर्ने योजनाका साथ हामी लागेका छौँ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया