काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले सामुदायिक विद्यालयमा दिवा खाजा कटौती गरिएकामा आपत्ति जनाउनुभयो । दिवा खाजा कटौतीको प्रस्ताव फिर्ता नगरे रास्वपाले कडा निर्णय गर्ने दिन आउने उहाँको भनाइ थियो ।

सांसद रामहरि खतिवडाले नेपाललाई तस्करको स्वर्गभूमिका रुपमा स्थापित गर्न खोजेको पछिल्लो सुन प्रकरणबाट देखिएकाले यसको सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो । एउटा भरिया र चालकलाई पक्राउ गरेर दोषीलाई जोगाउन नहुने उहाँको भनाइ थियो ।

सांसद वीना जयसवालले तराई क्षेत्रमा खानेपानीको समस्या भएको उल्लेख गर्नुहुँदै पानीबिना छट्पटाइरहेकालाई केन्द्र र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताउनुभयो । मधेसमा आपत आएका बेला यसको समाधान गर्न स्थानीय सरकारसँग माथिल्ला दुई तहका सरकारले पनि हातेमालो गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद राजेन्द्र बजगाइँले गोरुलगायत पशु अकालमा मरिरहेकामा कृषि मन्त्रीको ध्यान नगएकाले यस विषयमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सांसद ठाकुर गैरेले पशुपतिनाथमा लगाइएको जलहरीको सुनको चर्चा संसद्मा चलाएर विमानस्थलमा सुन तस्करीको योजना बनेको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया