काठमाडौं – सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ ।सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ

एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले सत्ता गठबन्धभित्र साझा धारणा निर्माण नभई अगाडि बढे गठबन्धन भत्किनसक्ने चेतावनी दिनुभएको थियो । तर, प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गर्न र त्यहींबाट छिनोफानो गर्न आग्रह गर्नुभएको थियो । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्न नहुने अडान दोहर्याउनु भएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले संसद्मा सबै दलले धारणा राख्न पाउने भएकाले एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने अडान दोहोर्याउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले एमसीसी टेबल गर्न गरेको आग्रह प्रचण्डले अस्वीकार गरेपछि एमसीसीको मुख्यालयलाई प्रचण्डले लेखेको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र सार्वजनिक भएपछि प्रचण्ड ठूलो दबाबमा पर्दै आउनुभएको छ । यद्यपि, उहाँले एमसीसी सम्झौतामा रहेको असमान बुँदा संशोधन नगर्दासम्म एमसीसी पारित गर्न नसकिने अडान कायमै राख्नुभएको छ ।

यता, एमसीसीबारे छिटो निर्णय लिन अमेरिकाले समेत दबाब दिँदै आएको छ । प्रधानमन्त्री देउवा र अमेरिकाको दबाबपछि एमसीसीको बारेमा निर्णय गर्न प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवादसमेत गर्नुभएको छ । तर, जवाफमा ओलीले सत्ता गठबन्धनले निर्णय गर्नुपर्ने विषय भएकाले आफ्नो पार्टीले अहिले नै निर्णय नगर्ने जवाफ दिनुभएको छ । प्रधानमन्त्री देउवा कुनै पनि हातलमा एमसीसी टेबल गरेर पास गराउने अडानमा अगाडि बढेपछि रोक्नको लागि प्रचण्डले ओलीसँग संवाद गरे पनि सकारात्मक जवाफ नपाएपछि सबैभन्दा बढी प्रचण्ड संकटमा पर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्ता गठबन्धन भत्काएर एमसीसी पारित गर्नुपर्ने दाउमा छ । सत्ता गठबन्धनले निर्णय नगर्दासम्म एमाले निर्णय नगर्ने बताउँदै आएको एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीच एमसीसी संसद््मा टेबल भएको अवस्थामा प्रचण्ड र माधव नेपालले साथ नदिए पनि पारित गर्ने समझदारी भएको बताइएको छ । तर, एमाले एमसीसी टेबल गर्न तयार भएको हो भन्ने समाचारपत्रको जिज्ञासामा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भन्नुभयो– ‘हाम्रो माग यथावत नै छ, माग सम्बोधन नभएसम्म संसद् चल्न दिँदैनौं ।’ उहाँले फागुन २ गते बोलाइएको संसद् बैठक केही दिन स्थगित गर्न सभामुखलाई आग्रह गरेको तर सभामुखबाट जवाफ नआएको जानकारी पनि दिनुभयो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रधानमन्त्री देउवा भने आगामी फागुन २ गतेको लागि बोलाइएको संसद्को बैठकमै एमसीसी टेबल गर्ने गृहकार्यमा रहनुभएको छ । उहाँको दल नेपाली कांग्रेसले एकमतका साथ एमसीसी पारित गर्नुपर्ने निर्णय गरी अन्य दलहरूसँग संवाद अगाडि बढाएको छ । कांग्रेसका प्रवक्ता प्रकाशरण महतले सरकारले एमसीसी संसद्मा टेबल गर्ने सम्बन्धमा सभामुखले अन्यथा गर्न नमिल्ने बताउँदै सबै दल मिलेर पारित गर्नुपर्ने बताउनुहुन्छ । एमालेले संसद् अवरुद्ध गरिरहेको अवस्थामा कसरी टेबल हुन्छ भन्ने जिज्ञासामा महतले भन्नुभयो– ‘अब एमालेले संसद् अवरुद्ध गर्दैन, एमसीसी टेबल गराउन संसद् सञ्चालन गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया