तनहुँ, १९ साउन – तनहुँको व्यास नगरपालिका–५ पाटनका केबी गुरुङले तनहुँ नेत्रहीन सङ्घलाई जग्गादान गर्नुभएको छ । नब्बे वर्षीय गुरुङले करिब रु २५ लाख मूल्यको चार आना दुई दाम जग्गा उपलब्ध गराउनुभएको हो ।

सङ्घलाई एक वर्षअघि नै जग्गादान गर्न चाहे पनि अस्वस्थ्य भएका कारण ढिला भएको उहाँले बताउनुभयो । व्यास–५ पाटनका गुरुङ कृषि अधिकृत पदको जागिर छाडेर बागवानी विकासमा लाग्नुभएको छ । आठ वर्षसम्म अधिकृत पदमा काम गर्नुभएका उहाँले जागिर छाडेर आफ्नै बागवानी कृषि फार्म सञ्चालन गर्नुभएको छ । करिब एक सय रोपनी क्षेत्रफलमा गुरुङले आँप, लिची, सुन्तला, एभोकाडोलगायत फलफूलखेती गर्दै आउनुभएको छ । उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्छ ।

जग्गा प्राप्त भएपछि नियमित कार्यालय सञ्चालन र तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको सङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । “तीनवटै सरकार तथा अन्यबाट आर्थिक स्रोत जुटाएर भवन निर्माणको योजना छ”, उहाँले भन्नुभयो । हाल तनहुँ नेत्रहीन सङ्घमा ७० जना आबद्ध छन् ।

तपाईको प्रतिक्रिया