काठमाडौं – काठमाडौँमा भएको विभिन्न घटनामा संलग्न सात जनालाई पक्राउ गरी कारवाही थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

लाखौँ रकमसहित छ जना जुवाडे र लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज अवैध लागुऔषध ब्राउन सुगरसहित मकवानपुर फापरवारी गाउँपालिका–७ बस्ने २८ वर्षीय अनुपकुमार विश्वकर्मालाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ना६ख ९४७८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार अनुपकुमारलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको जनाइएको छ । यता काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे चौरीदेउराली बस्ने ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी रु एक लाख ४७ हजार बरामद गरिएको हो । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया