वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको वर्तमान संविधानले सबै आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताउनुभएको छ । आज किरात देवास राई उत्थान समाज, नेपालले प्रकाशन गरेको “देवास राई कृति सङ्गालो” नामक देवास राई भाषाको पुस्तक विमोचनमा मुख्यमन्त्री पौडेलले नेपालका सबै जातजातिको भाषा संस्कृतिको संरक्षण गरिने उल्लेख गर्नुभयो । संसारलाई अनेकतामा एकताको गतिलो उदाहरण प्रस्तुत गर्न सफल नेपाल कयौँ जातजाति तथा धर्म संस्कृति र परम्पराले सुसज्जित रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले मातृभाषामा पढ्न पाइने अधिकारसमेत संविधानले प्रदान गरेको उल्लेख गर्दै मातृभाषाको संरक्षण र संवद्र्धन गर्दै देशको सम्पर्क भाषा नेपाली तथा अन्तरराष्ट्रियरुपमा बोलिने भाषा अङ्ग्रजीकोसमेत ज्ञान लिनुपर्ने धारणा राख्नुभयो । विश्व साँघुरो हुँदै गएको वर्तमान प्रविधिको युगमा पहिचानलाई सुरक्षित राख्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भाषासँगै जातजातिले आफ्नो संस्कृतिको पनि संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । पौडेलले प्रदेश सरकारले देवास राईको ऐतिहासिकता झल्कने सङ्ग्रालय निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा किरात देवास राई उत्थान समाज, नेपालका अध्यक्ष आसमान राईले कतिपयले आफूलाई दनुहार राई भन्नेगरेको भए पनि आफू किराती देवास राई भएको उल्लेख गर्दै सोहीअनुसार बुझ्न अनुरोध गर्नुभयो । सेन राजाको चौतारिया रहेका आफ्ना पुर्खा पृथ्वी नारायण शाहको आक्रमणमा विस्थापित भएको र खोलाको किनारमा गइ बसेको उहाँको भनाइ थियो । वाग्मती प्रदेश मकवानपुर, चितवन, नुवाकोट, धादिङलगायत जिल्लामा बसोबास गर्ने देवास राईहरुको जनसङ्ख्या एक लाखको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया