काठमाडौं – जयनगर–कुर्था खण्डमा सञ्चालन गर्न भन्दै एक वर्षअघि भारतबाट दुईवटा रेल सेट तामझामका साथ जनकपुर भित्र्याइयो । तर अहिलेसम्म कहिलेबाट रेल सञ्चालनमा आउँछ, कुनै टुंगो छैन । आवश्यक तयारीबिनै हतारिएर रेल ल्याउँदा अहिले थन्क्याएर राख्नुपरिरहेको हो ।

रेल चलाउन नेपाल रेलवे कम्पनी त छ । तर यसका लागि कानुन र कर्मचारी दुवैको व्यवस्थापन अझै हुन सकेको छैन । २०७७ असोजमा ल्याइएका रेल सेटको पछिल्लो साढे सात महिनादेखि प्राविधिक जाँचसमेत हुन सकेको छैन । कम्पनी कसरी र कहिले रेल चलाउने भन्नेमा मन्त्रालय र विभागसँग छलफलमै रहेको बताउँछ । ‘रेल चलाउने तयारीमै लागेका छौं,’ कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने, ‘सबै तयारी पूरा भए आगामी पुस दोस्रो साताबाट रेल चलाउने योजना हो ।’

जयनगरदेखि कुर्थासम्मको ३४.९ किलोमिटरमा रेल चलाउने कम्पनीको तयारी हो । यो रुटको अहिलेसम्म भाडादर पनि निर्धारण भइसकेको छैन । ‘तिहारपछि भाडादर निर्धारण गरिनेछ,’ झाले भने, ‘भारतले हस्तान्तरण गरेका केही संरचना पनि मर्मत गर्नुपर्नेछ ।’ भारतका तर्फबाट परियोजना कार्यान्वयन निकाय इरकान इन्टरनेसनल लिमिटेडले भौतिक संरचना निर्माण गरी हस्तान्तरण गरिसकेको छ । तिनैमध्येका केही संरचना बिग्रिएका छन् । त्यसको मर्मतसम्भारको काम पनि इरकानले नै गर्नुपर्छ । ‘इरकानले मंसिर दोस्रो सातासम्म बिग्रिएका संरचना बनाउने सहमति भएको छ,’ उनले भने, ‘अन्य बाँकी रहेका समस्या पनि समाधान गर्दै अघि बढ्नेछौं ।’

कार्यालय सञ्चालनका लागि रेल विभागले बनाउँदै गरेको भवनसमेत अझै बनिसकेको छैन । भवन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ । कर्मचारी व्यवस्थापनको काम पनि छठपछि सुरु हुने उनले बताए । यसअघिका महाप्रबन्धक गुरु भट्टराईले विज्ञापन खुलाएर कर्मचारी माग गरेका थिए तर करारमा नियुक्त गर्न पाइँदैन भन्दै लोक सेवा आयोगले रोकेको थियो । लोक सेवा आयोग अध्यक्षलाई भेटेर कर्मचारीको स्थायी भर्ना प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेको झाले बताए ।

‘जहिले पनि कर्मचारी भर्ना मात्र समस्याको विषय नबनोस् भनेर आयोगलाई स्थायी रूपमै कर्मचारी भर्ना गर्न आग्रह गरेका हौं,’ उनले भने, ‘स्थायी कर्मचारी भएपछि सधैंका लागि समस्या समाधान हुनेछ ।’ तर अहिलेसम्म कर्मचारी भर्नाका लागि पाठ्यक्रम निर्माण भएको छैन । ‘यो प्रक्रियामा समय लाग्ने देखिन्छ,’ उनले भने, ‘हाम्रो जोड जतिसक्दो चाँडो कर्मचारी भनाइ र कानुनको पाटो टुंग्याएर रेल चलाउने भन्ने हो ।’ १ सय २९ जना कर्मचारी भर्ना गर्ने तयारी रहेको जनाउँदै उनले रेल चलाउन छुट्टै २६ भारतीय प्राविधिक टोली पनि नेपाल आउने जानकारी दिए । रेल सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने तयारीसमेत भइरहेको उनले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

रेलको प्रविधिक जाँच गर्न पनि तयारी थालेको कम्पनीले जनाएको छ । यसका लागि भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडको प्राविधिक टोली छठपछि नेपाल आउने झाले बताए । ‘अहिले रेल चल्ने मिति तोकौंला, भोलि रेल चलेन भने के गर्ने ?’ उनले भने, ‘त्यसका लागि कोंकणको प्राविधिक टोलीलाई छठपछि आउन भनेका छौं ।’ कोंकणसँग एक वर्षका लागि रेल चलाउने र मर्मत गर्नेगरी २२ करोड भारतीय रुपैयाँ (३५ करोड २० लाख रुपैयाँ) मा सम्झौता भएको छ । जसबापत पहिलो किस्ता भुक्तानी भइसकेको उनले जनाए ।

यो रेलमार्गको कुल दूरी ६८.७२ किमि छ  । १७ किमि कुर्था–बिजलपुरा खण्डको निर्माण ९० प्रतिशत पूरा भएको छ । बिजलपुरा–बर्दिबासको १६.८२ किमिमा भने मुआब्जाको दर निर्धारण गरी काम अघि बढेको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईको भनाइ छ ।

तपाईको प्रतिक्रिया