राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै नेपाल पुलिस क्लब लिगको दोस्रो स्थानमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–१ गोलले हराएको हो । पुलिसका लागि निर्मला विक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गर्नुभएको थियो । चन्द्रपुरका लागि सविता राना मगरले सान्त्वना गोल गर्नुभयो । खेलको २७औँ मिनेटमा विकले गोल गर्नुभएको हो । खेलको ३९औँ मिनेटमा चन्द्रपुरकी रानाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा पु¥याउनुभयो । मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा पुलिसका लागि थापाले गोल गर्नुभयो । खेलको इन्जुरी समयमा शेर्पाले गोल गर्दै पुलिसलाई ३–१ गोल अन्तरले विजयी दिलाउनुभयो । जितसँगै पुलिस क्लब पाँच खेलमा आठ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । चन्द्रपुर पाँच खेलमा तीन अङ्कका साथ लिगको छैटौँ स्थानमा छ । प्रतियोगिताअन्तर्गत सोमबार विराटनगर र आर्मीबीच तथा एपीएफ र चौदण्डीगढीबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया