मोरङ – गरिब तथा पछाडि परेका समुदायका सहयोगका लागि सधैँ अगाडि आउने ‘दुःखको साथी नेपाल’को प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ सञ्चारकर्मीलाई सम्मान एव उपचार खर्च प्रदान गरिएको छ ।

ब्लड क्यान्सरबाट पीडित भई उपचार गराइरहनुभएका सञ्चारकर्मी कमल पौडेललाई नगद सहयोग गरिएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, न्यू सृष्टि दैनिक प्रधान सम्पादक शङ्कर खरेल, सोही दैनिकका प्रबन्धक सम्पादक ब्रह्देव यादव र नेपाल टेलिभिजन इटहरीका भूमिक पाख्रिनलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

पत्रकार लुइँटेलले पुरस्कारबाट प्राप्त राशि केही दिनअघि सोलुखुम्बुका आगलागी पीडित सामुदायिक सोलु एफएमलाई र खरेलले उपचार गराइरहेका पत्रकार पौडेललाई सहयोग गर्ने घोषणा गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टीका प्रदेश नं १ का सहइन्चार्ज लालबाबु पण्डितले पत्रकारलाई सम्मान गर्दै राजनीतिकर्मीले देश र जनताको सर्वोपरि हितका लागि काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले संसद् पुनःस्थापनापछि सरकारको स्थायित्व भएको चर्चा गर्दै पार्टी व्यवस्थापनतर्फ अगाडि बढेको धारणा राख्नुभयो । पूर्वमन्त्री पण्डितले संस्थाको सहयोग कार्यले समाजलाई प्रेरणा प्राप्त भएको छ भन्दै अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मानित पत्रकार महासङ्घका प्रदेश नं १ का अध्यक्ष लुइँटेलले समाजसेवामा कार्यरत संस्थालाई स्थापित गराउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै लोक कल्याणकारी विज्ञापनमा राज्य उदार नभएको गुनासो गर्नुभयो । संस्थाका अध्यक्ष गङ्गा पोखरेल, युवासङ्घका नेता पर्शुराम बस्नेतले संस्थालाई दिनदुःखीको सेवाको थलोका रूपमा विकास गर्ने बताउनुभयो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले संस्थाको वार्षिकोत्सवका उपलक्ष्यमा गर्ने सप्ताहव्यापी कार्यक्रमअन्तर्गत गरिब एवं पिछडिएका वर्गका परिवारलाई झुल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वैश्य समाजको अध्यक्षमा प्रा गुप्ता चयन

नेपाल वैश्य समाज विराटनगरको आज सम्पन्न ११औँ साधारणसभाले प्रा राजेन्द्रप्रसाद गुप्ताको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।

समाजका उपाध्यक्षमा क्रमशः दिनेश साह (हलुवाइ), अनिल साह (तेली), गोपाल गुप्ता (कलावार), रामेश्वर साह (सुडी) र रामनरेश साह (रौनियार) लाई चयन गरेको छ ।

यसैगरी सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः कामेश्वर साह, दिनेश राउत, वासुदेव जायसवाल र नरेन्द्रकुमार साह रहनुभएको छ । यस्तै सदस्यमा उमेश भगत, नन्दगोपाल साह, विष्णु रौनियार, किशोर गुप्ता, रविभूषण साह, मनोज साह, प्रा मञ्जु साह, उर्मिलादेवी साह, अमरलता गुप्ता, निर्मलाकुमारी साह र त्रिशला रौनियार हुनुहुन्छ । सभामा वक्ताहरुले समुदायको उत्थान र सामाजिक गतिविधिमा संस्थालाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो ।

सरदार बाँतर समुदायका सहयोगीलाई सम्मान

तराईका मोरङदेखि नवपरासीसम्म बसोबास गर्ने सरदार बाँतर युवा समुदायका सदस्यले गरेको सहयोगलाई प्रोत्साहन गर्न आज यहाँ उनीहरुलार्य सम्मान गरिएको छ ।

हिमपत मिडिया हाउस प्रालिले प्रवासी सरदर बाँतर युवा एकता समाज उत्थान केन्द्र, नेपालका सदस्य एवं सो समुदायका कलाकारलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको हो । केन्द्रका सदस्यले मुलुक विभिन्न क्षेत्रमा अशक्त, पिछडिएका, विपन्न समुदाय, भोका, नाङ्गा र खर्चविहीन बिरामीको उपचारका लागि मिडियामार्फत आर्थिक सहयोग गर्दै आएको छ ।

भारतीय चलचित्र कलाकार नाफिक खान, रेडियो नेपालका गायक रामा मण्डल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल र मिडियाका प्रधानसम्पादक प्रकाशनारायण झा, सम्पादक÷प्रकाशक वीरेन्द्रकुमार साहले संयुक्त रुपमा कलाकार ममता सरदार, सूमिका सरदारलाई सम्मान गर्नुभयो । यसैगरी केन्द्रका अन्य सदस्यलाई सम्मान गरिएको छ । रासस

तपाईको प्रतिक्रिया