सप्तरी – अठार महिनादेखि बेपत्ता एक महिलाको कंकाल फेला परेको छ । राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी पत्नी ७५ वर्षीया रासोदेवीको कंकाल आज फेला परेको हो ।
प्रहरीचौकी झुटकीदेखि करीब तीन सय मिटर पूर्वदक्षिणतर्फ रहेको सार्वजनिक ठारी पोखरी जीर्णोद्धार गर्ने क्रममा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । मानसिक सन्तुलन ठीक नभएकी रासोदेवी २०७६ साउन ३० गते रातिदेखि बेपत्ता हुनुभएको थियो ।
आगलागी
बिजुलीको तार सर्ट भई डाक्नेश्वरी नगरपालिकामा आज आगलागी भएको छ । डाक्नेश्वरी – २ का मो रहमुलको दुईकोठे घरमा आगलागी हुँदा करीब रु दुई लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी साहले बताउनुभयो ।

दुर्घटनामा मृत्यु

हनुमाननगर कंकालिनी नगरपालिकामा बोलेरोको ठक्करले आज मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनी–१ भारदहस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम जाँदै गरेको को १ ज ३१९९ नम्बरको बोलेरो गाडीले दिएको ठक्करले विपरीत दिशातर्फ जाँदै गरेकोे लु २५ प ५७१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको रङ्गेली नगरपालिका–८ बस्ने धर्मचन्द्र राजवंशीका छोरा ३७ वर्षीय भीमराज रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया