टीकापुर – संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताउनुभएको छ । उहाँले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘समान भविष्यका लागि नेतृत्वमा समावेशिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा चौधरीले राजनीति तथा सामाजिक सेवामा लागेका महिलालाई चारित्रिक प्रहार बढेको बताउनुभयो ।

अधिकारकर्मी कमला केसीले छोरीलाई कन्यादान गरेर दिने चलन गलत भएको बताउनुभयो । “छोरी अंश र बंश हो, हामी त्यही छोरी दान गरेर दिन्छौँ”, उहाँले भन्नुभयो, “यो गलत हो, अहिले आत्महत्या गर्नेमा महिलाको सङ्ख्या बढी छ, विकल्प नदेखेर महिलाले आत्महत्या गर्छ, यसलाई रोक्न छोरीमाथि भइरहेको अत्याचार रोक्न छोरीलाई बलियो बनाउन आवश्यक छ ।”

महिला नेत्री कमला शाहीले हिंसा न्यूनीकरणका लागि योजना बनाएर काम गर्न जरुरी रहेको बताउनुभयो । “पुरुषसँग प्रतिस्पर्धा गर्ने महिलालाई राजनीतिबाट पनि पाखा लगाइन्छ”, उहाँले भन्नुभयो, “हामीले कति दिन दिएको मात्र खाने रु अब हामी बलियो बन्न आवश्यक छ ।”

महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा प्राध्यापक कलावती स्वाँरले जन्मिँदा एउटै प्रकृति र पीडा भोगेर जन्मिएका छोराछोरीबीच विभेद गर्नु गलत रहेको बताउनुभयो । “छोरा रातिसम्म नआउँदा पनि सोधिन्न, छोरीलाई ६ः०० बजेपछि घर बाहिर जान छुट छैन”, उहाँले भन्नुभयो, “छोरालाई छाडा नबनाएको भए छोरी बलात्कृत हुने थिएनन् ।”

नेपाल पत्रकार महासङ्घ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले समान व्यवहारका लागि नेतृत्वमा रहेका महिला, राजनीतिमा आबद्ध भएका, सामाजिक अगुवाले घरबाटै थालनी गर्नुपर्ने बताउनुभयो । “तपाईहरु कति जनाले छोराछोरी दुवैलाई बराबरी काम र अवसर दिनुभएको छ”, देवकोटाले भन्नुभयो, “जन्मदेखि नै छोरीलाई गरिने विभेद अन्त्य गर्न महिला, पुरुष दुवै सचेत हुन जरुरी छ ।”

सामाजिक अभियानकर्मी निर्मला कडायतले महिलालाई ३३ प्रतिशत व्यवस्था संविधानले गरेकै भए पनि राजनीतिक दलले व्यवहारिकरुपमा महिलालाई अवसर दिने कुरा व्यवहारमा उतार्न नसकेको बताउनुभयो । “महिला पढेलेखे पनि स्वतन्त्र छैनन्, चरालाई पनि स्वतन्त्रता चाहिन्छ भने हामी मानिस हौँ”, उहाँले भन्नुभयो, “हामीलाई सरकारले पनि ठगेको छ, पुरुष नेतृत्वले पनि ठगिरहेका छन् ।”

तपाईको प्रतिक्रिया