काठमाण्डौ । राजधानीको तापमान घटेजस्तै सेयरबजार कारोबार मापक नेप्से सूचकांक तिहारपछि पनि १ हजार १५० कै विन्दुवरिपरि सीमित बनेको छ ।

लगानीकर्ताको मनोबल उस्काउने सरकारी संयन्त्रबाट आश्वासनसमेत नपाएपछि पछिल्लो समय लगानीकर्ताहरुको सेयर खरिदबिक्रीमा भोक जाग्न सकेको छैन । नेप्सेले सञ्चालनमा ल्याएको स्वचालित अनलाइन प्रणालीको विश्वसनीयताले मजबुती नपाउनु, भारित औसत लागत विधि झन्झटिलो हुनु, बढ्दो ब्याजदर, तरलता अभावको संकेतलगायतका विविध कारणहरुले नेप्से सूचकांक स्थिरप्रायः बनेको छ नै दैनिक कारोबार रकमसमेत १५ देखि २० करोडमै खुम्चिन पुगेको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा भने झिनो वृद्धि भएको छ । यो दिन नेप्से परिसूचक ०.९७ अंकले बढेको छ भने कारोबार रकम रु १९ करोड १८ लाख पुगेको छ।

अहिलेको समय धमाधम सूचीकृत कम्पनीका पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक भइरहेको छ । यद्यपि लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको हुँदा सेयरमूल्य सस्तिएला कि भन्ने पर्खाइमा रहेको विश्लेषकहरुको आँकलन छ ।

मार्जिन कारोबारमा पनि कार्यान्वयनको पाटो जटिल बनिदिँदा पुँजी बजारमा आउने थप रकम मार्जिन ऋण लिन यो बेला लगानीकर्ताहरुले कुनै चासो र रुचि देखाएका छैनन् ।

यो दिन बजारका अधिकांश समूहमा झिनो अंकले हरियो पोतियो । बैंकिङ समूह ०.९२ अंकले घटेको यो दिन विकास बैंक समूहमा पनि ०.८३ अंकले गिरावट आयो । यस्तै वित्त समूहमा १ अंकले घट्दा लघुवित्त समूहमा भने ५.६ अंकले वृद्धि भएको छ । जीवन बिमा समूह ३.०३ अंक र निर्जीवन विमा समूहमा १४.३८ अंकले बढोत्तरी भयो ।

यसैगरी जलविद्युत् समूह १७.४३ अंक, होटेल समूह ५.६३, उत्पादन तथा प्रशोधन समूह ०.९६ अंकले बढेको छ भने अन्य समूह २.४६ अंक घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनी

यो दिन बजारमा १६३ कम्पनीका ७ लाख ५९ हजार ७ सय १२ कित्ता सेयर १९ करोड १८ लाख ५४ हजार ३ सय ३३ रुपैयाँमा किनबेच भयो। सबैभन्दा बढी नबिल बैंक लिमिटेडले करिब २ करोड रुपैयाँबराबरको कारोबार गरेको छ ।

त्यस्तै बढी कारोबार गर्नेमा प्रभु बैंक, चिलिमे हाइड्रोपवर, प्राइम कमर्सियल बैंकको संस्थापक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, मेगा बैंक र शिवम् सिमेन्टले क्रमशः १ करोड ६१ लाख, १ करोड १९ लाख, ९२ लाख, ७० लाख, ५७ लाख, ४३ लाख, ३९ लाख, ३९ लाख र ३५ लाख रुपैयाँबराबर भएको छ ।

धेरै कमाउने र गुमाउने कम्पनी

यो दिन ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताले धेरै कमाए भने जोशी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए ।

तपाईको प्रतिक्रिया