काठमाडौँ  – प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले्र)ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ ।

आजको बैठकको आकस्मिक समय चलिरहेको बेला सो पार्टीका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गर्नुभयो । एमालेका सांसदहरू ‘सुन तस्करीलाई कारबाही गर’लगायत नारा लगाउँदै ‘रोष्टम’ घेर्न पुगेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाईएको जानकारी गराउँदै प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

यसअघि बैैठकको प्रारम्भमै एमालेका सांसद आसनमा उभिएर बिरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक गिरीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमा श्रम गरेर आउने जनताका एक सेट मोबाइल र सानो टुक्रा सुन जफत हुने गरेकामा क्विण्टल सुन गैरकानुनीरुपमा कसरी भित्रियो भनी विरोध जनाउनुभयो ।

प्रमुख सचेतक गिरीले यस प्रकरणमा संसद्बाट उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै त्यसको सुनिश्चितता नभएसम्म संसद् चल्न नदिने बताउनुभयो । साथै उहाँले यस्तो अवस्थामा गृहमन्त्री कुर्सीमा बस्न योग्य नभएको समेत बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया