चुरे, मकवानपुर – नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो । एमाले विभाजनपछि १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन् ।

५६ सांसदसहित मुख्यमन्त्री चयन भएकी शाक्यसँग एमाले विभाजनपछि ४३ सांसद मात्र बाँकी थियो । १ सय ९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५५ सांसद चाहिन्थ्यो ।

आफू नेतृत्वको सरकार ढलेसँगै कुनै बेला चारवटा प्रदेशमा मुख्यमन्त्री रहेको एमालेसँग अब प्रदेश १ को मात्रै मुख्यमन्त्री बाँकी छ । एमालेले प्रदेश १ को मुख्यमन्त्री पनि गुमाउने निश्चितप्रायः छ । अब एमाले प्रदेशमा मुख्यमन्त्रीविहीन बन्ने दिन नजिकिँदै छ । गण्डकी र लुम्बिनी प्रदेशमा यसअघि नै एमाले नेतृत्वसको सरकार ढलिसकेको छ ।

विश्वासको मत पाउने निश्चित नभएपछि बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले बुधबार राजीनामा दिएकी हुन् । बुधबार नै उनको राजीनामा स्वीकृत भइसकेको छ । एमालेले डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।

तत्कालीन समयमा माधवकुमार नेपाल निकट मानिने उनी मुख्यमन्त्री पाउने भएपछि नेपाल समूह छाडेर एमालेमै बसेकी थिइन् । उनले २ भदौमा मुख्यमन्त्रीको शपथ लिएकी थिइन् । अल्पमतमा परेपछि शाक्यले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेकी थिइन् । त्यसलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी थिइन् ।

प्रदेशसभामा उठेको प्रश्नलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजनीतिलाई संस्कारयुक्त कदमको सुरुवात आफूबाट गर्न मार्ग प्रशस्त गरेको बताउँदै राजीनामा दिएको बताइन् । प्रदेशसभामा विश्वासको मत नपाउने पक्का भएपछि मत विभाजनको बाटो रोज्नुभन्दा मार्ग प्रशस्त गर्न राजीनामा दिएको उनले बताइन् ।

प्रदेशसभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुला गरिदिन पनि आफूले राजीनामा दिएको शाक्यको भनाइ थियो । शाक्यको विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मत विभाजन गरिने कार्यतालिका थियो । प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको भए पनि शाक्यले नयाँ सरकार गठन गर्नका लागि बाटो खोलीदिएकी हुन् ।

शाक्यले विश्वासको मतको लागि ४ कात्तिकमा सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुईपटक सारेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

उता, बागमती प्रदेश प्रमुख शर्माले बुधबार नै नयाँ सरकार गठनका लागि बिहीबार ३ बजेसम्मको समयसीमा तोकेका छन् । अब नयाँ मुख्यमन्त्रीमा एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे नियुक्त हुनेछन् ।

एकीकृत समाजवादीका पाण्डे नयाँ मुख्यमन्त्री
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएसँगै विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डे नेतृत्वमा सरकार निर्माण गर्ने सहमति गरिसकेका छन् ।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

बागमती प्रदेशमा कांग्रेसका सचेतक छिरिङ दोर्जेका अनुसार, पाण्डेलाई मुख्यमन्त्री बनाउन ५९ जना सांसदको साथ रहेको छ । ५९ जनाले नै पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित प्रदेश प्रमुख शर्मासमक्ष सिफारिस गरिसकेका छन् । बागमतीमा नयाँ सरकार बनाउन ५५ मत भए पुग्छ ।

प्रदेशसभामा एमालेका ४३, माओवादी २३ र कांग्रेस २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा दलका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा)का दुई, राप्रपाका दुई र जसपाका एक गरी १ सय ९ सदस्य छन् ।

यी हुन्, नयाँ मन्त्रीका अनुहार
नयाँ मुख्यमन्त्रीमा नियुक्त हुन लागेका राजेन्द्र पाण्डेको बिहीबार नै शपथ हुने सम्भावना छ । गठबन्धनबाट पहिलो चरणमा पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारी छ । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् ।

गठबन्धनले पहिलो चरणमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रपरिषद् गठन गर्ने तयारी गरेको छ । तिहारलगत्तै विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया