बलेवा – बागलुङ बजारमा बिक्री वितरण भइरहेको दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका नियमनकारी निकाय सक्रिय भएका हुन् ।

बिहीबार बिहानै उपभोक्ताले दूध खरिद गर्नुपूर्व अनुगमन टोली दुग्ध उद्योग तथा बिक्री केन्द्रमा पुगेको थियो । दूधबाट बनेका पनिर, बटर, छुर्पी, घिउ र खुला तथा प्याकिङ गरिएको दूधको विषयमा जानकारी लिन अनुगमन गरिएको थियो ।

सदरमुकाममा अधिकांश डेरी पसल रहेको र उद्योग कम रहेकाले मुकाम बाहिरबाट दूध ल्याएर बिक्री हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । “उपभोक्ताले मध्यराति फोन गरेर दुग्धजन्य पदार्थको विषयमा गुनासो गर्नुभयो, हामी तत्काल एक्सनमा गयौँ”, उहाँले भन्नुभयो “परीक्षणबाट नतिजा आउन बाँकी छ ।” सदरमुकामका एक उद्योग र तीन बिक्री केन्द्रको अनुगमन गरेको टोलीले दुई ठाउँमा मात्रै दूध तथा दुग्धजन्य पदार्थ फेला पारेको थियो ।

“गुणस्तर पत्ता लगाउन नमूना लिएका छौँ”, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठले भन्नुभयोे, “नमूना पोखरा पठाइएको छ, नतिजा आएपछि आवश्यक कारबाही हुन्छ ।”

तपाईको प्रतिक्रिया