शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले घोषित निर्वाचनको तयारीका लागि सबै दल घरदैलोमा लागिसकेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण भएको खानेपानी परियोजनाको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँगाउँमा चुनाव प्रचारमा लागिसकेका छन् । मुलुक चुनावमय भइसकेको छ । यो चुनाव कसैले पनि रोक्न सक्दैन ।”

नेकपा नेतृत्वको सरकारले कैयौँ राष्ट्रिय गौरव र अन्य आयोजनाका कामलाई तीव्रतासाथ अघि बढाए पनि सरकारले काम नगरेको आरोप लगाइएको गुनासो गर्दै अबको निर्वाचनले स्थिरता र समृद्धिका लागि जनादेश दिने जनाउनुभयो । प्रतिनिधिसभाको विघटन भई आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा भएको छ ।

उहाँले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहो¥याउनुभयो । नेकपा उपत्यकाका संयोजक श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र, काठमाडौँ–९ मा सर्वमान्य नेता गणेशमान सिंह र जननेता मदन भण्डारीको नाममा पार्क निर्माण भइसकेको र जापान सरकारको सहयोगमा ५० वटा साकुराको बिरुवा ल्याएर खाइके–साकुरा पार्क निर्माण भइसकेको तथा कीर्तिपुर–नैकाप जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

दहचोकमा कालुपाण्डेको समाधीस्थलमा पार्क निर्माण र केही महिनाभित्र भीमढुंगा र रामकोट जोडिने झोलुङगे पुल निर्माण अघि बढ्ने पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया