काठमाडौँ, २० साउन – विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइहनुभएका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको छ ।

हास्य कलाकारहरूले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम भइरहेको सन्दर्भमा रिजालले भने निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याउने गर्नुभएको छ । “मेरो कलाकारिता यात्रामा गाईजात्राको ठूलो भूमिका छ । यसका लागि तयार गरिने सामग्री र प्रहसनले मलाई अगाडि बढाएको थियो । मैले हरेक वर्ष आफ्नो प्रहसन र प्यारोडी गीतसहितको प्रस्तुति ल्याउने गरेको छु”, हास्य कलाकार रिजालले भन्नुभयो । पहिले क्यासेटमा आउने सामग्री भिसिडी हुँदै अहिले युट्युबमा आउने गरेको छ ।

विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई चिरफार गर्दै व्यङ्ग्य गरिएको उहाँले जानकारी दिनुभयो । उहाँलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिनुभएको छ ।

प्रहसनमा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’, राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगायतले अभिनय गर्नुभएको छ ।

हास्यकलाकार रिजालले गाईजात्राको कोसेलीमार्फत व्यङ्ग्य गरेर चेतना बढाउने काम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको मत पाएको बन्नुभएका प्रतिनिधि र कर्मचारीले गरिरहनुभएको गलत कार्यलाई व्यङ्ग्य गरेको छु । यसले उहाँहरूलाई पनि आफ्नो गल्ती बुझ्न मद्दत गर्छ भन्ने हो । साथै, मनोरञ्जन यसमा भरपुर छ ।”

तपाईको प्रतिक्रिया