काठमाडौं – चन्द्रबहादुर पुनमगर र सन्तोषी श्रेष्ठ गोल्डेन स्पिन्ट मिटका उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।

दशरथ रंगशालमा आज भएको मिटमा पुरुषतर्फ पुनमगर र महिलातर्फ श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुनुभएको हो । एक सय मिटर दौडमा पुनमगरले आशिष चौधरीलाई उछिन्दै स्वर्ण जित्नुभयो । उहाँले निर्धारित दूरी १० दशमलव ८० सेकेण्डमा पूरा गर्नुभयो । रजत प्राप्त गर्नुभएका चौधरीले निर्धारित दूरी १० दशमलव ८५ सेकेण्डमा तथा कास्य विजेता जीवन चौधरीले १० दशमलव ९९ सेकेण्डमा पूरा गर्नुभयो ।

यस्तै महिलातर्फ श्रेष्ठले तीन हजार मिटर दौड नौ मिनेट ४९ दशमलव ९ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जितिन् । सो स्पर्धामा रजत प्राप्त गर्नुभएकी नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १० मिनेट ४१ दशमलव ९ सेकेण्ड तथा कास्य प्राप्त गर्नुभएकी काठमाडौँकी बन्दना राईले १२ मिनेट २२ दशमलव ५ सेकेण्डमा निर्धारित दूरी पूरा गर्नुभयो ।

चार सय मिटर दौडमा पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले स्वर्ण जित्नुभयो । उहाँले निर्धारित दुरी ४९ दशमलव १ सेकेन्डमा दूरी पार गर्नुभयो । रजत प्राप्त गर्नुभएका एपीएफका शिवराज पार्कीले ५१ दशमलव ६० सेकेण्ड तथा कास्य जित्नुभएका आर्मीका प्रकाश दनुवारले ५१ दशमलव ९८ सेकेण्डमा उक्त दूरी पूरा गर्नुभयो । सोही विधामा महिलातर्फ भगवतीकुमारी चौधरीले एक मिनेट ०४ दशमलव एक सेकेण्डका साथ स्वर्ण, सीमा चौधरीले एक मिनेट ०७ दशमलव ८ सेकेण्डका साथ रजत तथा काजल विष्टले एक मिनेट १० दशमलव तीन सेकेण्डका साथ कास्य जित्नुभयो ।

पुरुषतर्फ तीन हजार मिटरमा नौ मिनेट १० दशमलव ६ सेकेण्डका साथ टङ्क कार्कीले स्वर्ण, नौ मिनेट १६ सेकेण्डका साथ शिवबहादुर रायमाझीले रजत तथा नौ मिनेट ३२ दशमलव सात सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै सन्तोष नाथ योगीले कास्य पदक प्राप्त गर्नुभयो । स्वर्ण, रजत र कास्य प्रदक प्राप्त गर्नेले क्रमशः रु सात हजार, रु पाँच हजार तथा रु तीन हजार पुरस्कार प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया