काठमाडौं – करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन्।

वामपन्थीको सरकार ढालेर कांग्रेसलगायतका पार्टीसँग मिली दक्षिणपन्थी सरकार बनाउन पहल गरेको र संसदीय इतिहासमा सबैभन्दा कलंकित भएकाले नेपाल नक्कली कम्युनिस्ट भएको ओलीको तर्क छ। गत असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि ओलीले नेपाललाई गद्दार र नक्कली कम्युनिस्टको आरोप लगाए, त्यसयता पनि दोहोर्‍याउँदै आएका छन्।

ओलीले संविधान मिच्न खोजेको विश्लेषण गर्दै नेपालले देउवालाई प्रधानमन्त्री बनाउन मोर्चाबन्दी गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। यसै कारण नेपालसँग ओली बढ्ता चिढिएका हुन्।

अर्कोतिर नेपालले ओली र उनले नेतृत्व गरेको एमाले नै नक्कली कम्युनिस्ट भएको आरोप लगाएका छन्। नेपालले शनिबार एक कार्यक्रममा सक्कली र नक्कली गरी नेपालमा दुई प्रकारका कम्युनिस्ट पार्टी रहेको बताए।

सँगसँगै उनले ओली नेतृत्वको एमाले नक्कली कम्युनिस्ट भएको आरोप लगाए। ‘समाजवादी पार्टी देशभक्त पार्टी हो,’ उनले भने, ‘एकीकृत समाजवादी ओली नेतृत्वको एमालेले जस्तो मध्यरातमा विदेशी कूटनीतिज्ञसँग छलफल गर्ने पार्टी होइन।

एमाले नक्कली कम्युनिस्ट पार्टी भइसकेको छ। अहिले सूर्यमा ग्रहण लागिसकेकाले त्यसको भविष्य छैन। त्यसैले हामीमात्र सक्कली कम्युनिस्ट पार्टी हौं।’ बलयगाडा चढेर अमेरिका नपुगिने र राजतन्त्र फाल्न नसकिने भनाइ राखेका ओलीको तानाशाही प्रवृत्तिका कारण एमाले सिद्धिएको दाबी पनि नेपालले गरेका थिए। अध्यक्ष नेपालले आगामी निर्वाचनमा नक्कली कम्युनिस्टलाई जनताले भोट नदिने र केही दिनमा ओली र उनको पार्टीलाई टर्च बालेरखोज्नुपर्ने, बताएका थिए।

ओलीले पनि नेपाललाई उछित्तो काढेर गाली गर्ने गरेका छन्। एमाले विभाजनको केही दिनपछि भदौ २२ मा ओलीले नेपाललाई ‘कुहिएको फर्सी’को संज्ञा दिएका थिए। उनले त्यति बेला नेपालले सैद्धान्तिक कुरा नगरेको, मानसम्मान नपुगेको मात्रै कुरा गरेको दाबी गर्दै भित्रभित्रै फर्सी कुहिएपछि कसको के लाग्छ र भनेका थिए। प्रधानमन्त्रीबाट बाहिरिएको दिन उनले नेपाललाई गद्दार घोषणा गरेका थिए। त्यसपछि पनि उनले नेपाललाई झरेको पात, लाल गद्दारजस्ता संज्ञा दिँदै आएका छन्।

एमालेको दसौं महाधिवेशनको मिति नजिकिँदै गर्दा ओलीले नेपालमाथि पार्टी विभाजनको दोष थोपर्न खोजेका छन्। एमाले देशव्यापी रूपमा वडा अधिवेशन, पालिका अधिवेशन सिध्याएर प्रतिनिधि छनोट चरणमा प्रवेश गरेको छ। आउँदो महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुने तयारीमा रहेका ओलीले विभाजनको दोष र नेकपा असफल हुनुमा माधव नेपाल एक मात्र कारण रहेको पुष्टि गर्न खोजेका छन्।

नेपालले भने विभाजनको दोषी ओलीलाई बताइरहेका छन्। उनी अब हुने निर्वाचनमा एमाले र ओलीलाई एक्लो बनाउने तयारीमा छन्। १५ वर्षसम्म एमालेको नेतृत्व गरेका नेपाल नवौं महाधिवेशनमा ओलीसँग पराजित भएपछि पार्टीभित्र पेलिएका थिए। ओलीले २०७४ सालमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर आफ्नो समूहका प्रभावशाली नेतालाई टिकट नदिई पेलेपछि नेपाल झन् चिढिएका थिए।

२०७५ जेठ ३ गते एमाले–माओवादी केन्द्रबीच एकीकरण भएपछि ओलीले पुष्पकमल दाहालसँग मिलेर नेपाल समूहलाई पेलेरै जाने नीति बनाए। ओलीले दाहाललाई समेत पेलेर जाने नीति लिएपछि दाहाल–नेपाल मिलेर ओलीलाई पेल्न खोज्दा पार्टीभित्र विग्रह उत्पन्न भयो। त्यो विग्रह पार्टी विभाजनसम्म पुगेपछि ओली नेतृत्वको सरकार ढल्यो। आजको नागरिक दैनिकमा समाचार छ ।

सरकार ढल्नुमा सबैभन्दा बढी दोष नेपालकै रहेको भन्दै ओलीले उनीमाथि संसदीय व्यवस्थाको कलंक भएको आरोप लगाउने गरेका छन्। उता नेपालले ओलीलाई दक्षिणपन्थी, गणतन्त्र र संघीयता विरोधी भएको, कम्युनिस्ट आचरणबाट विचलित भएको आरोप लगाइरहेका छन्। यो आरोप–प्रत्यारोप आगामी निर्वाचनसम्म नै निरन्तर चल्ने सम्भावना छ।

तपाईको प्रतिक्रिया