रामपुर (पाल्पा) -कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी खेपेका युवा गाउँ फर्केपछि चुनौतीलाई अवसरमा बदल्दै आयआर्जनका लागि आलु खेती गरेका हुन् ।

यहाँका युवाले करीब एक सय रोपनी क्षेत्रफलको जग्गा भाडामा लिएर आलु खेती शुरु गरको हुन् । ट्वान्टी ट्वान्टी समूहमा वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेशा व्यवसायमा आबद्ध युवामात्र आबद्ध छन् । आलु खेतीमा प्रोत्साहन गर्दै वडा कार्यालयले दश बोरा तथा कृषि ज्ञान केन्द्र पाल्पाले एक सय बोरा जनकदेव र कार्डिनल जातको ५० प्रतिशत बीउ अनुदान उपलब्ध गराएको छ । अहिले युवाले शुरु गरेको आलु खेती उदाहरणीय पनि बनेको छ । एकै ठाउँमा ठूलो क्षेत्रफलमा आलु फलेपछि हेर्न आउने र तस्बिर लिनेहरू पनि बढेका छन् ।

कोभिड–१९ को बन्दाबन्दीको समयमा जापानबाट गाउँ फर्कनुभएका युवा बद्री लम्सालले रामपुरको पहिचान बढाउन र आयस्रोत वृद्धिका लागि युवाहरू मिलेर सामूहिक खेती गरेको बताउनुहुन्छ । “कोभिडले पनि हामी युवामा एउटा ऊर्जा थपिदिएको छ, कोभिडको सङ्क्रमण नभएको भए विदेशमा नै भइन्थ्यो होला, अब गाउँमै बसेर काम र दामका लागि सामूहिक कार्य शुरु गरेका छौँ, हामीले सोचेजस्तो गरी खेती पनि भएको छ”, उहाँले भन्नुभयो ।

विदेशमा दैनिक आठदेखि दश घण्टाको समय काम गर्न बाध्य युवा अहिले घरपरिवारका साथमा रहेर स्वतन्त्ररूपमा काम गर्न पाउँदा उत्साहका साथ कृषि कार्यमा जुटेका छन् ।

कोभिड–१९ ले विश्वव्यापीरूपमा स्वास्थ्यमा नराम्रो असर पारे पनि आफूहरू जस्ता गाउँका युवालाई भने नयाँ कृषि कार्य गर्ने अवसर सिर्जना भएको कोरियाको रोजगारबाट फर्कनुभएका युवा सन्तोष देवकोटाले बताउनुभयो । सबै क्षेत्रमा आबद्ध रहेका यहाँका युवाले शुरु गरेको सामूहिक आलु खेती नमूना बनेको छ । ब्लक क्षेत्रअन्तर्गत यहाँका विभिन्न महिला समूह, आमा समूह, कृषि समूहले पनि समूहमा नै आलु खेती गरेका छन् ।

सामूहिक कार्यले एक अर्काबीच अनुभव साटासाट गर्ने, नयाँ कुरा सिक्ने अवसर मिलेको आत्मनिर्भर महिला कृषक समूहका उमा भट्टराईको अनुभव छ । विजयपुर कृषि सहकारीले खेती लगाउने समयमा नै मल बीउबिजन उपलब्ध गराएकाले पनि कृषि कार्यमा कृषकलाई सजिलो परेको छ ।

एक सय रोपनी क्षेत्रफलमा करीब छ सय मेट्रिक टन आलु उत्पादन हुने वडा सदस्य तथा ट्वान्टी ट्वान्टी समूहका आलु लगाउने कार्यक्रम संयोजक यमबहादुर भुजेल बताउनुहुन्छ । युवाले आलु खेतीका लागि बीउ अनुदानबाहेक करीब छ लाख बराबरको लगानी गरेका छन् ।

एकै वडाभित्र करीब एक हजार दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक आलु खेती गरिएको छ । रामपुर नगरपालिका–६ र कृषि ज्ञान केन्द्र पाल्पाको सहयोगमा एकै ठाउँमा लगाइएको आलु फस्टाउन थालेको छ ।

नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ६ ले विगतका वर्षदेखि आलु खेतीलाई जोड दिएर बीउमा अनुदान उपलब्ध गराउँदै आएको वडाध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

रामपुर नगरपालिकाले पाँच लाख बजेटमा कृषि शाखामार्फत नगरका कृषकलाई पाँच टन आलु ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । आलु ब्लक क्षेत्र रहेको वडा नं ६ मा वडा कार्यालयमार्फत रु चार लाख सहयोगमा पाँच टन आलुको बीउ वितरण गरिएको छ ।

गत वर्ष रामपुर नगरपालिकाभित्र करीब तीन हजार रोपनी क्षेत्रफलमा आलु खेती गरिएको थियो भने यस वर्ष करीब पाँच हजार रोपनीमा आलु लगाइएको छ । ब्लक क्षेत्र रहेकाले पनि यस वर्ष क्षेत्रफल थप गरी कृषकले आलु खेती गरेका छन् ।

यो वर्ष नगरपालिकाभित्र करीब दुई हजार ५०० मेट्रिक टन आलु उत्पादन हुने अनुमान रहेको रामपुर नगरपालिकाका कृषि शाखाप्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । रामपुर नगरपालिकाले एक वडा एक उत्पादन नीतिअन्तर्गत वडा नं ६ लाई आलु पकेट क्षेत्रका रूपमा विकास गरिरहेको छ ।

रामपुर नगरपालिकामा ३०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण भएकाले पनि भण्डारण गर्न अन्यत्र लैजानुपर्ने बाध्यता हट्ने हुँदा आलु उत्पादनमा जोड दिएको कृषक यमकान्ति गौतम बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया