काठमाडौं – नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’ आउँदो वर्ष २०७८ को दसैंमा प्रदर्शन हुने भएको छ।

नारायण इन्टरनेसनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रूपमा फिल्म निर्माण गरेका हुन्। फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश बिजीले तयार पारेका हुन्।

फिल्मको कथा दसैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दसैंलाई नै रोज्नु परेको निर्देशक रायमाझीले बताए। ‘हामीले यस पटक अध्ययनका लागि बिदेसिने नेपाली विद्यार्थीको विषयवस्तुलाई केन्द्रमा राखेका छौं। यो विषयवस्तुलाई दर्शकले रुचाउनेछन्’, निर्देशक रायमाझीले भने।

फिल्ममा दिलीप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लूलगायतका कलाकारको अभिनय छ। लोकगायक प्रकाश यसै फिल्ममार्फत अभिनेताका रूपमा डेब्यु गर्दै छन्।

यसअघि दर्शकका लागि ‘गोर्खा पल्टन’, ‘परदेशी’जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझी र निर्माता वंशलको ‘परदेशी–२’ तेस्रो फिल्म हो। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ।

अमेरिका र भारतका विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा फिल्म छायांकन गरिएको छ।

तपाईको प्रतिक्रिया