काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ।

एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई कार्यक्रम तालिकासहित आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन्।

पोखरेलले जारी गरेको निर्देशनअनुसार कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन्। उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी सहभागी रहनेछन्।

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इन्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, पदाधिकारीलगायत सहभागी हुने एमालेले जनाएको छ।

एमालेले तय गरेअनुसार फागुन १–२ मा प्रदेश नं. १ को विराटनगरमा, फागुन ३–४ गते मधेस प्रदेशको जनकपुरमा, ६–७ गते वाग्मतीको काठमाडौंमा, फागुन ८–९ मा गण्डकीको पोखरामा प्रशिक्षण हुनेछ। त्यस्तै लुम्बिनी प्रदेशका बुटवल र दाङमा फागुन ११–१२, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १४–१५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६–१७ गते प्रशिक्षण कार्यक्रम हुने एमालेले जनाएको छ।

सातवटै प्रदेशमा कार्यक्रम सकेपछि जिल्ला र महानगर तथा सबै स्थानीय तहमा कार्यक्रम गर्ने योजना एमालेले बनाएको छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेपछि पार्टीले आन्तरिक तयारी र संगठन बलियो बनाउन भेला र प्रशिक्षणको कार्यक्रम आयोजना गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ‘समयमा निर्वाचन होस् भन्ने एमालेको माग थियो।

सरकारले निर्वाचनको मिति घोषणा गरेको छ। यसलाई समयमै सम्पन्न गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन पनि आवश्यक छ भने अर्कोतर्फ पार्टी पंक्तिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी गराउनु र एमालेको सरकारले गरेका कामबारे थप जानकारी गराउनु पार्टीको दायित्व भएकाले अहिले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो’, उनले भने।

उता एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीले संगठन विस्तार र चुनाव प्रचारप्रसार एकै साथ गर्ने भएको छ। मंगलबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तथा संगठन निर्माण र विस्तार एकसाथ गर्ने निर्णय गरेको हो। एमालेका कार्यकर्तालाई प्रवेश गराउने दाउमा रहेको एस पार्टीले निर्वाचनमा स्थानीय स्तरमा संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेको छ।

तल्लो तहसम्म नेता कार्यकर्ताको भेला गर्ने, कमिटीहरू गठन गर्ने तथा चुनावलक्षित कार्यक्रम गर्ने तयारी सो पार्टीले गरेको छ। ‘आजको सचिवालय बैठकले संगठन विस्तार र चुनाव प्रचारप्रसार एकै साथ गर्ने र स्थानीय तहको निर्वाचनको मिति घोषणालाई स्वागत गर्ने निर्णय गरेको छ।

बैठक बुधबार पनि बस्ने भएकाले थप जानकारी पछि आउँछ’, एस पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने। उनका अनुसार भर्खरै पार्टी निर्माण भएका कारण संगठन विस्तार नै पहिलो प्राथमिकता रहेको छ। नेकपा एस भदौ ९ गते एमालेबाट विभाजन भएर बनेको थियो।

सो पार्टीले जिल्ला कमिटीहरू बनाइसकेको छ। साथै सातवटा प्रदेश तथा जनवर्गीय संगठनका पनि कमिटी निर्माण गरिसकेको छ। सो पार्टीले अबको ध्यान स्थानीय तहको निर्वाचन लक्षित गरेर संगठन निर्माण गर्ने जनाएको छ। स्थानीय तहको निर्वाचनमा पनि अहिलेको पाँचदलीय गठबन्धन कामयै रहने भएकाले मिलेरै निर्वाचनमा भाग लिने खतिवडाले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।

कांग्रेस, माओवादी, जसपा, नेकपा एस र राष्ट्रिय जनमोर्चासँगको सहकार्य यथावत् हुने र बाँकी रहेका अन्य दलसँग पनि सहकार्य गरेर अघि बढ्ने योजना रहेको उनले जानकारी दिए। ‘पाँचदलीय गठबन्धन आगामी संसदीय निर्वाचनसम्म कायम रहन्छ, स्थानीय तहमा पनि त्यो कायमै छ। यसका अतिरिक्त अन्य कम्युनिस्ट घटकसँग पनि सहकार्य हुनेछ’, खतिवडाले भने।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि मंगलबार बिहान एस पार्टीका महासचिवले निर्वाचनको मिति घोषणा संविधानविपरीत रहेको बताएका थिए। दिउँसो बसेको सचिवालय बैठकले भने सरकारको निर्णयको स्वागत गरेको थियो।

तपाईको प्रतिक्रिया