इङ्लिस टोली एभर्टन इएफएल कप फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एभर्टनले फ्रेन्च लिग वान क्लब लिन्कन सिटीलाई ४–२ गोलले हरायो । एभर्टनको जितमा लुकास डिग्ने, गिल्फी सिगुर्डसन, एलेक्स इओवी र रिचार्लीसनले गोल गरेका थिए । घरेलु टोली लिन्कनका लागि ह्यारी एन्डरसन र ब्रुनो एन्डराडेले गोल गरे ।

खेलमा सुरुवाती अग्रता लिन्कनले लिएको थियो । खेलको पहिलो मिनेटमै ह्यारी एन्डरसनले गोल गरेका थिए । ३६औं मिनेटमा एभर्टनका लुकास डिग्नेले बराबरी गोल फर्काए । ५९औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई अगाडी बढाए । ७०औं मिनेटमा ब्रुनोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि जोसिएको एभर्टनका लागि ८१औं मिनेटमा एलेक्स इओवी र ८८औं मिनेटमा रिचार्लीसनले गोल गर्दै सहज जित दिलाए ।

इएफएल कप अन्तर्गत बुधबार रातिनै भएको अन्य खेलमा सन्डरल्यान्डले बर्नलीलाई ३–१, स्वान्सी सिटीले क्यामब्रिजलाई ६–०, बर्नमाउथले फरेस्ट ग्रीनलाई टाईब्रेकरमा ३–० र लेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई टाईब्रेकरमा ४–२ र सेफ वेडले रोदरह्यामलाई १–० गोलले हराउँदै अघिल्लो चरणमा स्थान बनायो । – एजेन्सी

तपाईको प्रतिक्रिया