वासिङटन – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

उनीहरूले बुधबार शपथ लिँदै छन् । शपथ ग्रहणका वेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । यो संख्या अफगानिस्तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा हो ।

विगत केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथ ग्रहण समारोह अगाडि हिंसा हुन सक्ने आशंका गरेको छ । हजारौं प्रहरी र सुरक्षाकर्मीका साथै नेशनल गार्डका २५ हजारभन्दा बढी जवान तैनाथ गरिएको छ  । 

अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भागमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । ती स्थानमा ८ फिट अग्ला बार लगाइएको छ । पूरै शहरमा सुरक्षा सतर्कता बनाइएको छ । 

राज्यका संसद् भवनमा सुरक्षा सतर्कता राखिएको छ । जनवरी ६ मा अमेरिकी संसद् भवनमा भीडले गरे जस्तो हिंसक आक्रामक घटना हुने आशंकामा सुरक्षा अधिकारीलाई सजग बनाइएको छ ।

वासिङटन डिसीका मेयर मुरियल बाउजरले भनेका छन्, ‘प्रहरी विभागले संघीय संस्था र अमेरिकी सेनासँग मिलेर काम गरिरहेको छ । कुनै पनि खालको आक्रमणसँग जुध्न तयार छौँ ।’ 

एफबीआईले आफ्नो आन्तरिक बुलेटिनमा वासिङटन र ५० वटै राज्यका संसद् भवनमा हिंसा हुनसक्ने आशंका व्यक्त गरेको छ ।

यसैबीच एफबीआईले अमेरिकी संसद् भवन क्यापिटलमा भएको आक्रमणमा टेक्ससका दुईजनालाई गिरफ्तार गरेको छ । एफबीआईका एक प्रवक्ताले ४८ वर्षीय गाय रेफिट र ३७ वर्षीय म्याथ्यू कार्ल मजोक्कोलाई पक्राउ गरेको जानकारी दिएका छन् । रेफिटलाई कानुनी बाधा पुर्‍याएको र गैरकानुनी प्रवेशको आरोप लगाइएको छ । म्याथ्यूलाई क्यापिटलमा गैरकानुनी प्रवेश र उपद्रो गरेको आरोप लगाइएको छ ।

क्यापिटल हिल नजिकै गत शुक्रबार एक व्यक्ति बन्दुक र ५०० गोलीका साथ पक्राउ गरिएको थियो । उनीसँग बाइडनको शपथ ग्रहण समारोहको नक्कली पास पनि थियो । ३१ वर्षीय वेस्ले ए बिलरले भुलवश बन्दुक र गोली लिएर आएको बताएका थिए ।

बाइडन ह्वाइट हाउस प्रवेश गर्दै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प बिदा हुँदैछन् ।  एजेन्सी

तपाईको प्रतिक्रिया