काठमाडौं – निर्वाचन आयोगले मतदाता नमावलीमा नाम दर्ता गर्न ३३ दिने विशेष अभियान सुरु गर्ने भएको छ । आयोगले १७ मंसिरबाट २० पुससम्म गरी ३३ दिन मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरी मतदाता नामावलीमा नाम दर्ता गर्न उमेर पुगेका तर नामावलीमा नाम छुट भएकाहरूलाई मतदाताको सूचीमा ल्याउन खोजेको हो ।

यसअघि आयोगले मतदाता नामावली ऐन, २०७३ बमोजिम ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट नियमित रूपमा मतदाता नामावली संकलन गर्दै आएको थियो । तर, यसपटक भने अभियान नै सञ्चालन गरेर आयोगले ती कार्यालय रहेका स्थानीय तहबाहेकका ६ सय ३७ वटा स्थानीय तहको केन्द्रबाटसमेत नामावली संकलन गर्ने जनाएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट बाहेक यो अवधिभर ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६ सय ३७ वटा स्थानीय तहको केन्द्रबाटसमेत नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनका अनुसार यसअघि आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने व्यवस्था रहेकोमा विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका नागरिकलाई समेत सहज रूपमा नाम दर्ता प्रक्रियामा सहभागी गराउन १७ मंसिरदेखि नियमित रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

‘यसअघि स्थानीय ठेगाना रहेको जिल्लामा नै नाम दर्ता गर्न जानुपर्ने बाध्यता थियो तर अब हामीले जो जहाँ छ त्यहीँ नाम दर्ता गर्न सकिने गरी व्यवस्था मिलाएका छौं । यसरी संकलन भएको नाम आयोगको सर्भरमा रेकर्ड भई सम्बन्धित जिल्ला हुँदै सम्बन्धित स्थानीय तहबाट सम्बन्धित वडामा नै परिचयपत्र पु¥याइन्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

यसरी अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा पठाइने तयारी आयोगको छ ।

आयोगले उमेर पुगेका र मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका आमनागरिकले नाम दर्ता गर्न सक्ने जनाएको छ । नामावली संकलन अभियानमा १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।

सो अभियान हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडांै उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार नामावली संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुनेछ । प्रवक्ता पौडेलले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधि’bout जानकारी प्राप्त गर्न सकिने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

१७ मंसिरबाट सुरु हुने विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने र अभियान २० पुससम्म सञ्चालन हुने आयोगले बताएको छ । तर, स्थानीय तहको केन्द्रबाहेकका हकमा भने नामावली संकलन सो मितिपछि पनि जारी रहनेछ ।

हाल देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम रहेकोमा यस कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान आयोगको छ ।

आयोगले २०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुन लागेको र प्रचलित कानुनी व्यवस्थाबमोजिम निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले नामावली दर्ता अभियानमा सहभागी हुन उमेर पूरा भएका आमसर्वसाधारणमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया