नवलपरासी – नवलपरासी बर्दघाट–सुस्तापश्चिम बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । निः शुल्क उपचारका लागि नगरपालिकाकाभित्रका दुई सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

“अपाङ्गता भएकालाई स्वास्थ्योपचारमा सहज होस् भनेर निः शुल्क उपचारको सुरुआत गरेका हाँै”, उहाँले भन्नुभयो, “यसबाट उहाँहरूलाई सहज हुनेछ भन्ने विश्वास लिएको छु । ”

नगर मातहतका अस्पतालले दिन भ्याउने सबै सेवा सुविधा निःशुल्क दिइनुका साथै अन्यत्र उपचार गर्न जानुपर्ने एम्बुलेन्स सेवासमेत छुट दिइने स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो । यो सुविधा २०८० साल साउनदेखि लागू गरिएको उहाँले बताउनुभयो । सामुदायिक अपाङ्ग सेवा केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले अपाङ्गता भएकालाई यसले थोरै भए पनि राहत पुर्याउने जनाउँदै नगरको निर्णय स्वागतयोग्य छ भन्नुभयो ।

विशेषगरी निलो र सेतो परिचयपत्र भएका भत्ता नपाउने अपाङ्गता भएकालाई यसले राहत मिल्ने उहाँको भनाइ छ । नगरपालिकाभित्र सात सय ७९ अपाङ्गता भएका व्यक्तिमध्ये चार सय ८७ जनाले परिचयपत्र लिएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका

नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम० सुनवल र बर्दघाट नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिकाका भएका छन् । जनस्वास्थ्य तथा पोषणमा समेटिएको ८८ सूचकमध्ये ४४ प्राथमिक स्वास्थ्य सेवामध्ये समग्रमा सुरक्षित मातृत्वतर्फ आवश्यक सूचक पूरा भएको तथ्याङ्कका आधारमा दुवै नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएका हुन् ।

बर्दघाटमा १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र र एक अस्पताल रहेको छ । बर्दघाट नगरप्रमुख श्रेष्ठले केही वर्षभित्रमै सबै आधारभूत स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को स्थापना र नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने बताउनुभयो । नगर मातहतका स्वास्थ्य संस्थामा सेवा विस्तार गर्दै लगिने उहाँले जानकारी समेत दिनुभयो ।

सुनवल नगरप्रमुख विमला अर्यालले सुनवल नगरपालिकाले ‘बार्थिड सेन्टर’ स्थापना गरेको र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको बताउनुभयो । तेह्रवटै वडाबाट आधारभूत स्वास्थ्य सस्थबाट गर्भवतीलाई गर्भावस्थादेखि नै जाँचमा विशेष सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया