अन्नपूर्ण बेस क्याम्प नजिक बेपत्ता परेका चार कोरियाली नागरिक र दुई नेपाली अझै सम्पर्कमा आएका छैनन्।

सम्पर्कबाहिर रहेका कोरियाली नागरिकमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन्।

उनीहरूले यही जनवरी १५ देखि ट्रेकिङ सुरु गरेका थिए। उनीहरू ट्राभल मेट नामक एजेन्सीमार्फत नेपाल आएको भए पनि ट्रिप नेपाल माउन्टेन गाइड नामक स्थानीय कम्पनीबाट ‘टिम्स’ निकालेको पाइएको कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर्स एसोसिएसनका उपाध्यक्ष ङवाङ् निमा शेर्पाले जानकारी दिए।

शेर्पाका अनुसार उक्त समूहमा रहेका ११ जना कोरियाली नागरिकमध्ये दुईजना सिगाउँबाट माथि गएका थिएनन्। सिगाउँबाट माथि गएका ९ जनामध्ये ५ जना हिमालयन होटलमा सकुशल पुगेको र पछाडि रहेका ४ जना कोरियालीसहित १ जना नेपाली सम्पर्कविहीन बनेको उनले बताए।

पोखराबाट खोजीको लागि टोली गए पनि मौसम प्रतिकूलताका कारण असहज भइरहेको उपाध्यक्ष शेर्पाले बताए।

तपाईको प्रतिक्रिया