काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ प्रस्थान गरेका थिए ।

राजधानी नोम्पेनमा आज (शनिबार) बिहान प्रधानमन्त्री हुन सेनसँग ओलीको भेट भएको उनको निजी सचिवालयले जनाएको छ । ओलीलाई विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्यमन्त्रीस्तरीय अधिकारीबाट स्वागत गरिएको थियो ।
उनीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । विमानस्थलमै पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुस राजा गिलानीसँग ओलीको भेट भएको छ ।

त्यस्तै उनले नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भेटघाट गरेको सचिवालयले जानकारी दिएको छ । उनी पनि कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए । आफू कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिएका थिए । ओली साउन ८ गते स्वदेश फर्किने जनाइएको छ

तपाईको प्रतिक्रिया