काठमाडौं – दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ । शनिबार रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण हवाई उडान गर्न नसकेका हुन् ।

जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि नियमित चलेको हावाहुरीका कारण बिहानैदेखि उडान हुन नसक्दा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका सिमकोट विमानस्थलले जानकारी दिएको छ । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन् ।

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोका सामान पनि ढुवानी हुनसकेको छैन ।

विद्युत् सेवा पनि अवरुद्ध

तीव्र चलेको हावाहुरीले आज बिहानदेखि हिल्दुम वितरण केन्द्रले अप्रिय घटना नहोस् भनेर विद्युत् सेवा बन्द गरेको छ । शनिबार रातिदेखि चलेको हुरीले सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउाँपालिकासहित खार्पुनाथ गाउँपालिकाका सेवाग्राही प्रभावित भएका छन् । विद्युत् सेवा बन्द हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय तथा सिमकोटमा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसायीलाई समेत समस्या बनाएको छ ।

तीव्र चलेको हावाहुरीका कारण विद्युत्का तार जुधेर आगजनी हुनाका साथै कतै अप्रिय घटना नघटोस् भनेर यो सेवा बन्द गरिएको हिल्दुम वितरण केन्द्रका कर्मचारी विर्ष दमाईंले जानकारी दिनुभयो । हावा बिस्तारै कम हुँदै गएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने उहाँंले बताउनुभयो ।

तपाईको प्रतिक्रिया