म्यानमारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुकीविरुद्ध अर्को मुद्दा लगाएको छ ।
सुकीविरुद्ध राष्ट्रिय गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो अभियोगमा १४ वर्षसम्म जेल सजाय हुनसक्ने कानुनी व्यवस्था छ । सुकी अहिले ७५ वर्षकी छन् ।

गएको फेब्रुअरी १ मा त्यहाँको सेनाले सत्ता हातमा लिएपछि सुकीसहितका नेतालाई नजरबन्धमा राखिएको छ । यसअघि सैनिक सरकारले सुकीमाथि ६ लाख अमेरिकी डलर र ११ किलो सुन लिएको आरोप लगाएको थियो भने राष्ट्रपति विन मिन्ट र अन्य मन्त्रीहरूलाई पनि भ्रष्टाचारको आरोप लगाएको छ । त्यसैगरी सुकीमाथि गैरकानुनी रूपमा सञ्चार उपकरण राखेको, आयात तथा राष्ट्रिय प्राकृतिक विपत्सम्बन्धी कानुन उल्लंघन गरेको जस्ता आरोप पनि लगाइएको छ ।

यद्यपि सेनाले कुनै पनि आरोप प्रमाणित हुने प्रमाण भने सार्वजनिक गरेको छैन । सुकी र उनको पार्टी एनएलडीले भने ती सबै आरोप अस्वीकार गर्दै आएका छन् । शासन सत्ता हत्याउने सेनाको कदमविरुद्ध म्यानमारमा दैनिकजसो प्रदर्शन हुँदै आएका छन् । नागरिकको शान्तिपूर्ण प्रदर्शनमा सेनाले गोली चलाउँदा सयौंको मृत्यु भइसकेको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया