झापा – सवारी साधनको चाप र चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका कारण झापामा सडक दुर्घटना बढ्न थालेको छ । जिल्लामा तीन हप्तामा भएका सवारी दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् ।

सडकको स्तरोन्नति नहुनु पनि दुर्घटनाको कारक मानिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले यही माघ १ देखि २१ गतेसम्मको अवधिमा भएका ६४ वटा दुर्घटनामा १२ जनाले ज्यान गुमाएको र १५० घाइते भएको उहाँले जानकारी दिनुभयो । मापसे गरेर सवारी कुदाउनेमा ट्रिपरदेखि एम्बुलेन्सका चालकसमेत रहेको थापाले बताउनुभयो । प्रत्येक दुई दिनको अन्तरालमा दुर्घटनामा परेर एक जनाले ज्यान गुमाइरहेको उहाँको भनाइ छ ।

“सडकको स्तरोन्नति भएको छैन”, उहाँले भन्नुभयो, “यात्रुको चाप तेब्बर बढेको छ । त्यहीँमाथि चालकले मापसे गरेर ओभरटेक गर्दै गाडी कुदाउँछन् । अनि दुर्घटना घट्नुको सट्टा बढ्यो ।” अन्य महिनाको तुलनामा चालू महिनामा दुर्घटना बढ्नुमा चिसो र बाक्लो हुस्सुसमेत कारक रहेको जनाइएको छ ।

उहाँले मापसे गरेर सवारी चलाउने चालकलाई विगतमा जरिवाना गरेर छाड्ने गरे पनि अब कडा कारवाही गर्न शुरु गरेको बताउनुभयो । उहाँले मादक पदार्थ सेवन गरेर सवारी चलाउने चार जनालाई सार्वजनिक मुद्दा दर्ता गरेर कारवाही शुरु गरिसकेको जानकारी दिनुभयो ।

सडकका चोकचोकमा बसेका ट्राफिक प्रहरीले सवारीको गति कम गर्न, रातको समयमा सवारीमा बाल्ने बत्तीलाई डिम गर्न र मापसे जाँचलाई बढी प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सहायक प्रहरी निरीक्षक यामकुमार खड्काले अघिल्लो पुसमा महिनामा समेत १६४ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु बताउनुभयो ।

उहाँले दुर्घटना कम गराउन ट्र्याक्टरमा समेत हरियो स्टीकर टाँस्ने, भारतीय नम्बरप्लेटका मोटरसाइकल नियन्त्रणमा लिने र अनटेस्ट लेखिएका मोटरसाइकललाई चलाउन नदिने लगायतको जाँचलाई तीव्रता दिइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया