सुशील घिमिरे

काठमाडौं – टेलिफोन, मोबाइल र सामाजिक सञ्जालको विकास नभएका अवस्थामा समाचार सङ्कलन गरी टाइपराइटरमा समाचार लेखेर ग्राहककहाँ सम्प्रेषण गर्ने गरेको यसको इतिहास छ । एपी, एएफपी, पिटिआई, सिन्हालगायत विश्वका न्युज एजेन्सीसँगको यसको सहकार्य अहिले पनि कायम छ । समाचारको स्तरीयता र भाषिक शुद्धता तथा प्राविधिक र व्यवस्थापकीय शब्दहरुको सही प्रयोग गर्न समाचार शैली पुस्तिका (स्टाइल बुक) समेत प्रकाशन गरेर समस्त पत्रकार र प्रकाशनगृहहरुलाई प्रत्यक्ष र परोक्ष रुपमा यसले सहयोग पु¥याएको छ । राससबाट समयसमयमा तयार भएका आलेखहरुबाट विभिन्न सञ्चारगृह, पत्रपत्रिकाहरु लाभान्वित भएका छन् । उत्कृष्ट आलेखहरुको सङ्कलन गरी पुस्तकका रुपमा प्रकाशन गर्ने गरेको छ । राससले यस्ता रचनात्मक कार्य अझ परिष्कृत रुपमा अघि बढाउनुपर्ने देखिन्छ । त्यस्तै अडियो, फोटो र भिडियो सेवालाई झनै प्रभावकारी रुपले सञ्चालन गर्नु पनि आवश्यक छ ।

नेपालको एक मात्र आधिकारिक सञ्चार संस्था राष्ट्रिय समाचार समिति आफ्नो स्थापनाको छ दशकसम्म आइपुग्दा यसले समाचार जगत्मा आफ्नो नेतृत्वदायी भूमिकाबारे गहन समीक्षा गर्नुपर्छ । बदलिँदो राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थितिअनुकूल आफूलाई परिवर्तन गर्दै आफ्नो गौरव र प्रतिष्ठालाई अझ उचाली विश्वकै प्रतिष्ठित समाचार समितिहरुको दाँजोमा पु¥याउन अझ बढी मेहनत गर्नु आवश्यक छ । राससका सेवा सबै मिडियाले बिहानदेखि बेलुकासम्म अनिवार्य रुपमा कुरेर बस्नुपर्ने अवस्थामा यसले आफूलाई उभ्याउनु जरुरी छ ।

संस्थाको व्यावसायिक विकासका लागि राज्यले समाचार सङ्कलन र सम्प्रेषणमा कुनै हस्तक्षेप नगरी स्वायत्तता दिनुपर्ने हुन्छ । सूचना र समाचारको आधिकारिताका लागि सरकारी निकायका विज्ञप्ति, प्रगति विवरण, योजनाहरुको कार्यान्वयन, त्यसको प्रगति र कार्यान्वयन तहमा देखिएका समस्याको जानकारी सार्वजनिक गर्ने कार्यलाई सरकार वा राज्यस्तरमा प्राथमिकता राख्नुपर्छ । सरकारी निकाय र सरकाका सूचना तथा समाचारको आधिकारिता र विश्वसनीयताका लागि पनि सर्वप्रथम सूचना र समाचारको पहुँच राससले अनिवार्य रुपमा पाउनुपर्छ । अन्य सञ्चार संस्थाले विशेष गरेर सरकारी सूचना र समाचार राससमार्फत प्राप्त गर्दा गलत सूचना प्रवाहित नहुने सुनिश्चिता रहन्छ । यसो गर्दा सरकारलाई आफ्नो सूचना प्रवाह गर्न सजिलो हुन्छ । यसबाट राज्यका सूचना तथा विवरण वा दस्तावेजहरु अन्य सञ्चारगृह वा मिडियामा गलत तरिकाले प्रकाशन र प्रसारण हुँदा सरकारी निकायले पटकपटक खण्डन गर्नुपर्ने वा स्पष्ट पार्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।

राससले समाचार सङ्कलनका लागि आफ्नै स्थायी कर्मचारी, स्थायी संवाददाता राख्दा संस्थाको दायित्व बढ्ने र साधारण खर्च बढ्दै जाने हुन्छ । त्यसैले देशका विभिन्न ठाउँमा स्ट्रिन्जर वा स्थानीय संवाददाता नियुक्त गर्ने र तिनले पठाएको समाचार बुलेटिनमा प्रयोग भएअनुसार पारिश्रमिक दिने गर्दा काममा प्रतिस्पर्धा रहने र समाचारको गुणस्तर पनि कायम हुने हुन्छ । त्यस्ता संवाददातालाई समयसमयमा प्रशिक्षण दिने गर्नुपर्छ । तिनलाई लेखन सीप, विषयवस्तु र घटनाहरुको प्राथमिकता निर्धारण एवं भाषाको शुद्धता आदिका बारेमा जानकारी गराउनुपर्छ ।

मुलुकको अग्रणी समाचार संस्थाले आफूलाई समाचार बैंकका रुपमा कायम गरी इतिहासका घटना र विषयवस्तु तथा वर्तमानका समसामयिक समाचार र अन्य विवरण अर्काइभमा राखी अन्य समाचारगृहहरुलाई प्रदान गर्नुपर्दछ । राज्यको तल्लो तहमा यसको विकास र विस्तार गर्दै यसलाई आधिकारिक समाचारगृहका रुपमा स्थापित गर्न सरकारले स्पष्ट रुपमा प्राथमिकतापूर्वक समाचार समिति नीति र दृष्टिकोण बनाउन सकेमा विश्वकै प्रतिष्ठित समाचार समितिकै दाँजामा यसलाई लान सकिन्छ । यसबाट राज्य वा सरकारले पनि समाचार समितिप्रति गौरव गर्न पाउने छ । लेखक राससका पूर्वअध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया