काठमाडौं – दमौली, तनहुँको शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगमा फोहर भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले गरेको अनुगमनका क्रममा यहाँ सञ्चालित उद्योगले सरसफाइको मापदण्ड पूरा नगरेको भेटिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा चार उद्योग फोहर रहेको भेटिएको छ । उपभोक्ताको गुनासो आएपछि शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा र खैरेनीटार बजारमा सञ्चालित उद्योग अनुगमन गर्दा सबैले मापदण्ड पूरा नगरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

बेलचौताराका कृष्ण पाउरोटी, खैरेनीटारको सूर्य पाउरोटी, आयसा अरमान पाउरोटी र प्रीति बेकरी उद्योगले सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा नगरेको अनुगमनबाट भेटिएको छ । “एकातर्फ उद्योग सञ्चालनका निम्ति आवश्यक प्रक्रिया पूरा नगरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भेटियो,” उहाँले भन्नुभयो, “न उद्योगमा उत्पादित वस्तुको लेबलिङ छ, न त सरसफाइ नै ।”

अनुगमनका क्रममा उद्योग वरपर झिङ्गा भन्किरहेको थियो भने एक दिन पछाडिको उत्पादन मिति राखेर बजार पठाउन प्याकिङ गरिएको भेटिएको थियो । यी उद्योगले मापदण्ड पूरा नगरेको पाइएपछि तीनका सञ्चालकलाई पत्रमार्फत स्थानीय प्रशासन कार्यालयमा उपस्थित हुन बोलाइएको छ ।

“अधिकांश उद्योगमा फोहर छन्, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिएको र व्यवस्थित तरिकाले नचलाएको पाइयो,” सहायक प्रजिअ बरालले भन्नुभयो, “उनीहरुलाई नियमानुसार कानूनी कारवाही गछौँ ।” उद्योग सञ्चालकलाई खाद्य ऐन २०२३ र उपभोक्ता संरक्षण ऐन र नियमावलीअनुसार कारवाही हुने उहाँले जानकारी दिनुभयो ।

उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक महिना बजार अनुगमन गर्नुपर्ने शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुजित हिराचनले बताउनुभयो । बजार अनुगमनले उद्योगी व्यवसायीलाई अनुशासित बनाउने बताउँदै उहाँले व्यवसाय गर्दा उपभोक्तको हितलाई पनि ख्याल गर्न सुझाव दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले एक दिन अगाडि मात्रै व्यासनगरपालिका–२ मालेगबरमा सञ्चालित न्यू झलक दालमोठ उद्योग बन्द गराएको छ । उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क, अन्य उत्पादकको मिठाई आफँैले प्याक गरेको भेटिएको थियो । उक्त उद्योगमा सामान खरिदको बिलसमेत भेटिएको थिएन भने उद्योगले अनुज्ञापत्र लिएको थिएन ।

अनुगमन पश्चात् उद्योगका सञ्चालक वीरेन्द्रकुमार श्रेष्ठसमेतको सहमतिमा हाल उत्पादन बन्द गरिएको छ भने उत्पादन भइसकेको वस्तुको उत्पादक स्वयंमले गुणस्तर परीक्षण गराउने सहमति भएको छ । उद्योगलाई १५ दिनभित्र सम्पूर्ण कानूनी प्रक्रिया पूरा गराउन निर्देशन दिइएको छ ।

बन्द क्रसरबाट चोरी

बन्दीपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालित नमूना ग्रिड एण्ड क्रसर उद्योग अवैध भएको भन्दै जिल्ला प्रशासन कार्यालयले बन्द गराएको उद्योग हो । प्रशासनले क्रसर बन्द गराएको महिनौं भयो । तर, त्यहाँबाट अवैधरुपमा ढुङ्गा गिटी बालुवा ओसारपसार निरन्तर भइरहन्छ ।

सोमबार पनि उद्योगबाट ढुङ्गा, गिटी, बालुवा ओसारपोसार हँुदै थियो । सुराकी पाएपछि प्रहरी पुगेर ओसारपसारमा संग्लन रहेका सात टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले जानकारी दिनुभयो । उहाँका अनुसार ग १ क ४३०७, ग १ क ४३३०, ग १ ख ७९९७, ग १ ख ९२५३, ग १ क ४१७६, ग १ ख ७८४७ र ग १ क ४२८२ नम्बरका टिपर नियन्त्रणमा लिइएको हो ।

व्यासनगरपालिका–१३ सुडेबाट दमौलीतर्फ आउँदै गरेका टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको टिपर कारबाहीका लागि बन्दीपुर गाउँपालिकाको कार्यालयमा पठाइएकामा गाउँपालिकाले ती टिपरबाट रु ५२ हजार जरिवाना असुलेको छ । प्रशासनले बन्द गराएको उक्त क्रसर उद्योग सिल भने गरिएको छैन । तसर्थ बेलाबखतमा उद्योगबाट बालुवा, ढुङ्गा, गिटी ओसारपसार हुँदै आइरहेको छ । “क्रसर बन्द गराइएपनि सिल भएको छैन, रातारात माल ओसारपोसार हुनेगरेको सूचना आएको छ”, प्रहरी नायव उपरीक्षक तिम्लिसिनाले भन्नुभयो ।

सर्वसाधारणलाई जेब्राक्रसबाट हिँड्न सिकाइँदै

पृथ्वीराजमार्गको तनहुँको दमौली बजारस्थित सडकखण्डमा सोमबार दिउँसो सर्वसाधारण जथाभावी बाटो काटिरहेका थिए । बजार क्षेत्रमा ठाउँ ठाउँमा जेब्राक्रस भएपनि जेब्राक्रस भएको ठाउँभन्दा अन्यत्रैबाट मानिस ओहोरदोहोर गरिरहेका थिए । यत्तिकैमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल आइपुग्नुभयो र सर्वसाधारणलाई भन्न थाल्नुभयो, “जथाभावी बाटो नकाटिनुहोला दुर्घटना हुन सक्छ, जेब्राक्रसबाट मात्रै बाटो काट्नु है ।”

प्रहरी उपरीक्षक पौडेलको आग्रहपछि सर्वसाधारण जेब्राक्रस भएको ठाउँबाट बाटो वारपार गर्न थाले । प्रहरी उपरीक्षक पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्र हमाललगायत प्रहरीले एक घण्टाभन्दा बढी सडकमै उभिएर जेब्राक्रसबाट बाटो वारपार गर्न सर्वसाधारणलाई सिकाउन थाले ।

जेब्राक्रस भएका ठाउँबाट बाटो नकाटी जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले सर्वसाधारणलाई जेब्राक्रसबाट बाटो काट्न सिकाउन शुरु गरेको छ । “सर्वसाधारणलाई सचेत गराउनका लागि यो अभियान शुरु गरेका हौँ,” प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो, “कतिपयलाई यो विषय थाहा नहँुन पनि सक्छ ।”

शहरी क्षेत्रमा पैदलयात्रीको सङ्ख्या बढी हुने र व्यवस्थित आवतजावत नहुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एक हप्तासम्म सर्वसाधारणलाई सचेत गराइने पौडेलले जानकारी दिनुभयो । “दिनको दुई घण्टाभन्दा बढी यो अभियान सञ्चालन हुन्छ, यसले गर्दा बाटो काट्ने महानुभावलाई मात्रै होइन अन्य सबैलाई पनि जेब्राक्रसबाट मात्र बाटो काट्नुपर्छ भन्ने चेतना अभिवृद्धि हुन्छ,” उहाँले भन्नुभयो । प्रहरी उपरीक्षक पौडेलका अनुसार यो अभियानका क्रममा जेब्राक्रसबाट सर्वसाधारणले बाटो काट्दा सवारी रोक्नुपर्छ भनेर पनि सवारी चालकलाई सिकाइनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हमालले दमौलीमा मात्र नभई अन्य शहरी क्षेत्रमा पनि यस अभियानलाई विस्तार गरिने जानकारी दिनुभयो । दमौलीमा १२ ठाउँमा जेब्राक्रसको व्यवस्था गरिएको छ भने अन्य स्थानीय तहमा पनि सम्बन्धित पालिकाको सहयोगमा जेब्राक्रसको व्यवस्थापन गर्ने कार्यलाई अगाडि बढाइएको छ ।

आरोग्य सेवा केन्द्र सञ्चालन

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रत्येक स्थानीय तहमा केन्द्र स्थापना गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको लक्ष्यअनुसार उक्त वडाको मेलमिलाप केन्द्रमा आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

आरोग्य सेवा केन्द्रको उद्घाटन गर्दै आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले केन्द्रबाट आयुर्वेद पद्दतिको उपचार सेवा दिनेमात्र नभई ध्यान, योग र साधनाप्रति सर्वसाधारणलाई आकर्षित गराउनुपर्ने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले पछिल्लो समय आयुर्वेद सेवाप्रति जनताको विश्वास बढ्दै गएकाले सबैले उक्त सेवा लिनुपर्नेमा जोड दिनुभयो ।

आधुनिक चिकित्सा प्रणालीभन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेकाले यसकै महत्व बुझाउन हरेक स्थानीय तहमा आरोग्य केन्द्र स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले बताउनुभयो । सर्वसाधारणलाई आयुर्वेद स्वास्थ्य सेवाका लागि अन्यत्र भौतारिन नपरोस् भन्ने उद्देश्यसहित स्थानीय तहमै आरोग्य स्वास्थ्य केन्द्र स्थापनालाई तीव्रता दिइएको बस्नेतले बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले दश वटै स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापनालाई तीव्रता दिएको छ । जिल्लाको घिरिङ, देवघाट र बन्दीपुर गाउँपालिकामा आरोग्य सेवा स्थापना भइसकेको छ ।

आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउन केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिनुभयो । आरोग्य केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गरिनेछ । केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिनेछ ।

सबै नागरिकलाई स्वस्थ्य बनाउन गाउँ–गाउँमा यस्ता सेवा केन्द्र स्थापना गरिएको डा मण्डलले बताउनुभयो । “यसअघि आयुर्वेदका सेवा नपुगेका स्थानमा आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो,” उहाँले भन्नुभयो, “नागरिकलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो ।” रासस

तपाईको प्रतिक्रिया