काठमाडौँ – त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा तथा एपीएफले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटमा नै हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीले जाउलाखेललाई २५–११, २५–५ र २५–१३ अंकले हराएको हो । समूह ए मा रहेको आर्मी ६ अंकका साथ सेमिफाइनलमा पुगेको हो । अर्को खेलमा एपीएफले भरतपुरलाई २५–११, २५–१२ र २५–१० अंकले पराजित गर्यो । समूह ए मा रहेको एपीएफले पनि ६ अंक जोडेको छ । समूह विजेताका लागि अब आर्मी र एपीएफबीच खेल हुनेछ । जाउलाखेल र भरतपुर प्रतियोगिताबाट बाहिरिएका छन् ।

हेल्प नेपाल क्वाटरफाइनलमा

हेल्प नेपाल स्पोर्टस् क्लब यहाँ जारी आरबीबी एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह डी मा रहेको हेल्प नेपालले आज सम्पन्न खेलमा बुद्ध टोललाई २५–१०, २५–१५ र २५–११ अंकले पराजित गरेको हो । हेल्प नेपाल समूह डी को विजेता बनेको छ । यस्तै पार्वती भलिबल क्लब प्रतियोगितामा उपस्थित नभएपछि मणिमुकुन्द भलिबल क्लब पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेता टोलीले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुने टोलीले रु ५० हजार, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया