किमाथाङ्का – संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन् । अहिलेसम्म पनि जिल्लामा ब्लड बैंक स्थापना हुनसकेको छैन । ब्लड बैंक स्थापना गर्न अहिले विभिन्न सङ्घ संस्थाले सहयोग गरिहेका छन् ।

बिहीबार मात्रै खाँदबारीमा स्थापना हुनलागेको व्लड बैंकलाई सङ्खुवासभा समाज यूकेले आर्थिक सहयोग गरेको छ । पूर्व गोर्खा सैनिक रहेको सङ्खुवासभा समाज यूकेले नेपाल रेडक्रस सृजनसिल सामुदायिक रक्त सञ्चार सेवालाई रु छ लाख ९२ हजारको चेक हस्तान्तरण गरेको हो । गोर्खा वेल्फेयरमा भएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सङ्खुवासभा समाज यूकेका रमेश राईले ब्लड बैंक स्थापनामा सक्रिय संस्था सृजनसिल सामुदायिक विकास केन्द्रका अध्यक्ष राधादेवी वस्नेत र रेडक्रस सोसाइटीका अध्यक्ष सरोज बज्राचार्यलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । ब्लड बैंक स्थापना गर्न केन्द्रले विभिन्न अभियान सञ्चालन गरेको रकम सङ्कलन भइरहेको केन्द्रका अध्यक्ष वस्नेतले बताउनुभयो । ब्लड बैंक स्थापनाका लागि हालसम्म रु २३ लाख ४७ हजार २५४ रकम सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया