दमौली – तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरु भएको हो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १० करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँचवटा योजना निर्माण शुरु भएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिनुभयो ।

स्किम–१ अन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार ११९, स्किम–२ अन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६२१, स्किम–३ अन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार ४२४, स्किम–४ अन्तर्गत भन्टारमा रु ५९ लाख १०४ र स्किम–५ अन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुनेछ ।

बृहत् खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुनेछन् । इञ्जिनीयर पौडेलका अनुसार स्किम–१ बाट कटहरेका ८६, स्किम–२ अन्तर्गत पुट्टारका ८५, स्किम–३ अन्तर्गत बैडीका २४२, स्किम–४ अन्तर्गत भन्टारका ३९ र स्किम–५ अन्तर्गत अत्रौलीका १४५ घरधुरी लाभान्वित हुनेछन् । सबै खानेपानी योजनामा स्थानीयवासीले १० प्रतिशत श्रमदान गर्नुपर्नेछ । योजना निर्माणका लागि विसं २०७७ असार २४ गते लमजुङको पराजुली कन्स्ट्रक्शन प्रालिले ठेक्का पाएको छ । सबै योजनाको सम्पन्न गर्नुपर्ने म्याद विसं २०७९ असार २४ सम्म रहेको छ ।

कटहरेमा इन्टेक सम्पवेल, पम्पहाउस, ३५ घनमिटर आरसिसी पानीपोखरी निर्माण, धारालगायतका काम सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष गणेश ठकुरीले जानकारी दिनुभयो । पुट्टारमा इन्टेक सम्पवेल, पम्पहाउस, ३५ घनमिटर आरसिसी पानीपोखरी, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुने उपभोक्ता समितिका अध्यक्ष विजय भट्टराईले जानकारी दिनुभयो । बैडीमा इन्टेक सम्पवेल, पम्पहाउस, १५० घनमिटर आरसिसी पानीपोखरी निर्माण, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुने उपभोक्ता समितिका अध्यक्ष केशवराज पोखरेलले जानकारी दिनुभयो ।

भन्टारमा इन्टेक, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ भने अत्रौलीमा पानी प्रशोधन केन्द्र, क्रसिङ, भल्भ च्याम्बर, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ । यस अगाडि उक्त ठाउँमा एउटा धाराबाट आठ÷दश घरधुरीका स्थानीयवासीले खानेपानी उपभोग गर्दै आएका थिए । बृहत् खानेपानी योजना निर्माण शुरु भएर घरघरै धारा जडान हुने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि स्रोत केन्द्र ९रिसेड०ले तनहुँ जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई विभिन्न प्रकारका सहयोगी तथा सरसफाइका सामग्री वितरण गरेको छ ।

रिसेडले दुई जना अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई दिसा–पिसाब गराउन सजिलो हुने ट्वाइलेट चियर, २२ अपाङ्गता भएका महिलालाई स्यानीटरी प्याड, २८ अति तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई विभिन्न साइजका डाइपर र २४ जनालाई सरसफाइका लागि स्यानिटाइजर र दुई जनालाई वैशाखी वितरण गरेको हो ।

राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ र गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले अपाङ्गता भएका व्यक्तिलाई उक्त सामग्री शनिबार वितरण गर्नुभयो । सो अवसरमा उहाँहरुले रिसेडले कोभिडबाट प्रभावित भएका अपाङ्गता भएका व्यक्तिलाई गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

ट्वाइलेट चियर पाउनुभएका धर्मबहादुर अधिकारीले निरन्तर अरुको सहयोगमा शौच गर्नुपर्दा ज्यादै असजिलो भएकामा अब ट्वाइलेट चियर पाएपछि आफ्नो सरसफाइ तथा स्वास्थ अझ राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकी प्रदेश तथा युएनएफपिएको सहयोगमा सो सामग्री वितरण गरिएको रिसेडका अध्यक्ष पदम परियारले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया