सप्तरी – बालप्रतिभाहरुलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाइएको छ । राजविराजको तेरापंथ भवनमा शनिबार आयोजित कार्यक्रममा सर्वश्रेष्ठ बालिका तृप्ती चौडरिया, सर्वश्रेष्ठ बालक केशव सुराना र प्रतिभावान बालिका मोहिता छाजेडलाई प्रमाणपत्रसहित पुरस्कृत गरियो ।

यसैगरी कक्षा १ र कक्षा २ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप उपहार प्रदान गरिएको छ । ज्ञानशालामा निःशुल्क अध्ययन गराउने शिक्षिकालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । तेरापंथसभाका पूर्वअध्यक्ष रायचन्द दुगडले बालबालिकामा विनम्रता, सहनशीलता, आदर र सेवाभाव आदिको संस्कार बिजारोपण गर्न ज्ञानशालाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

ज्येष्ठ नागरिक सङ्घका प्रदेश नं २ अध्यक्ष शङ्कर शारदाले जीवन जिउने कला र ज्ञान सिकाउने ज्ञानशालाबाट भावी पिँढीलाई सुरक्षित बनाउन सकिने बताउनुभयो । इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बालबालिकालाई असल जीवन पद्धतितर्फ उन्मुख गराउँदै सफल मनुष्य बनाउन भइरहेको सार्थक प्रयासको प्रशंसा गर्नुभयो ।

ज्ञानशालामा जैन धर्मावलम्बी बालबालिकालाई जैन जीवनशैलीको प्राथमिक जानकारी दिई आध्यात्मिक, धार्मिक, सामाजिक, नैतिक, सांस्कृतिक मूल्यमान्यताबाट परिचित गराउँदै असल संस्कार सिकाइन्छ । ज्ञानशाला पाठशालाका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षतामा आयोजित समारोहमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, ज्ञानशालाकी मुख्य प्रशिक्षिका कमला भन्साली, संयोजक सुशीलादेवी छाजेड, तेरापंथ महिला मण्डलकी अध्यक्ष निलम कुचेरिया, सुनिला गोल्छा, पुनम झालगायतले भावी पिँढीलाई संस्कारित, सुयोग्य र सुरक्षित बनाउन ज्ञानशालाले संस्कारयोग्य नागरिक उत्पादनमा कारखानाको काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा ज्ञानशालाका बालबालिकाले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्दै गीत, कविता, मुक्तक, चित्र, बक्तृत्वकला प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया